आजदेखि काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार फरक(फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिनेछ।
विद्युत अवरूद्ध क्षेत्रको पहिलो सूचीअनुसार, आज कीर्तिपुरको रोपवे फिडर अन्तर्गत बल्खु करिडोर क्षेत्रका स्थानहरूमा विद्युत सेवा अवरूद्ध हुनेछ। बिहीबार मच्छेगाउँ फिडर अन्तर्गत भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत कटौती हुने बताइएको छ।
शुक्रबार रोपवे फिडर अन्तर्गत कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
पुस १ गते कीर्तिपुरकै रोपवे फिडर अन्तर्गत कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत कटौती हुनेछ। पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोकसम्म, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दिर क्षेत्र, पुस ४ गते बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।














