शेयर धितो कर्जा ३५% ले बढ्योः नबिल र ग्लोबल आक्रामक, एसबीआई र कुमारीको सर्वाधिक वृद्धि, कुनको कति ?

काठमाडौं । बैंकहरूले मार्जिन प्रकृति अर्थात् शेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अधिकांश बैंकले शेयर धितो कर्जामा लगानी वृद्धि गरेका हुन् ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरूले मार्जिन प्रकृतिका कर्जा ३५.०८ प्रतिशतले बढाएका छन् । यसअवधिमा १९ वाणिज्य बैंकहरुले ८५ अर्ब ९१ करोड १६ लाख शेयर धितो कर्जा लगानी गरेका हुन् ।
बैंकहरूले गत वर्षको सोही अवधिको तुलनामा शेयर धितो कर्जा राखेर ६३ अर्ब ६० करोड ३ लाख लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । १५ बैंकहरूले शेयर कर्जामा लगानी बढाएका छन् भने ४ बैंकले घटाएका छन् ।
यसअवधिमा नेपाल एसबिआई बैंकले सर्वाधिक १८८२ प्रतिशतले शेयर धितो कर्जाको लगानी विस्तार गरेको छ ।
त्यसैगरी, कुमारी बैंकले पनि शेयर कर्जाको लगानी १२० प्रतिशतले बढाएको छ ।
कात्तिक मसान्तसम्ममा सबैभन्दा बढी कर्जा लगानी नबिल बैंकले गरेको छ । नबिलले यसअवधमा कुल ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा नबिलले मार्जिन प्रकृतिक कर्जामा आफ्नो लगानी ७७.१३ प्रतिशतले बढाएको छ । गत वर्षको सोही अवधिमा बैंकले शेयर धितो कर्जामा ६ अर्ब २९ करोड ९३ लाख रुपैयाँ लगानी गरेको थियो ।
ग्लोबल आइएमईले ११ अर्ब १४ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले शेयर धितो कर्जाको लगानी १.८४ प्रतिशतले बढाएको छ । त्यस्तै, कुमारी बैंकले ८ अर्ब ३१ करोड १५ लाख रुपैयाँ शेयर धितो कर्जा लगानी गरेको छ ।
यसअवधिमा सिद्धार्थ बैंकले ९९.५३ प्रतिशतले बढाएर ७ अर्ब ९१ करोड, नेपाल बैंकले ७२.६५ प्रतिशतले बढाएर ७ अर्ब ६८ करोड, सिटिजन बैंकले ४२.५६ प्रतिशतले बढाएर ५ अर्ब ५७ करोड, प्राइम बैंकले ३४.०४ प्रतिशतले बढाएर ५ अर्ब ५२ करोड, लक्ष्मी सनराइज बैंकले २६.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बेंकले २६ प्रतिशतले बढाएर ३ अर्ब ३ करोड, एभरेष्ट बैंकले ७१ प्रतिशतले बढाएर २ अर्ब ३३ करोड, सानिमा बैंकले ६० प्रतिशतले बढाएर १ अर्ब ९५ करोड रुपैयाँ। कृषि विकास बैकले ४९ प्रतिशतले बढाएर १ अर्ब ७६करोड, एनएमबले ५८ प्रतिशतले बढाएर १ अर्ब ६८ करोड र माछापुच्छेले ९३ प्रतिशतले बढाएर ९६ करोड शेयर धितो कर्जामा लगानी गरेका छन् ।

शेयर धितो कर्जामा लगानी घटाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, एनआइसी एशिया बैंक र हिमालयन बैंक रहेको छ ।












