शिखर नगरपालिकाद्वारा बस र एम्बुलेन्स ट्र्याक गर्न लुना जिपिएस जडान, सेवा सहज र प्रभावकारी

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिकाले जनतालाई थप सुविधा दिनका लागि दुईवटा सार्वजनिक बस र एक एम्बुलेन्समा लुना जिपिएस जडान गरेको छ । लुना जिपिएस एउटा सवारी ट्र्याकिङ प्रणाली हो, जसले सवारी साधनको वास्तविक स्थान ट्र्याक गर्न सहयोग गर्दछ । यस प्रविधिको प्रयोगबाट नगरपालिकाले यातायात क्षेत्रलाई थप व्यवस्थित र आधुनिक बनाउने लक्ष्य लिएको छ ।
सर्वसाधारणले यो सेवा उपयोग गर्न आफ्नो स्मार्टफोनमा लुना जिपिएस एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । एप्लिकेसन डाउनलोड गरेपछि, दर्ता प्रक्रिया पूरा गरी सार्वजनिक बस वा एम्बुलेन्सको विकल्पमा क्लिक गरेर सवारी साधनको स्थान थाहा पाउन सकिन्छ । यसले नगरपालिकाका बस र एम्बुलेन्स अहिले कहाँ छ र कति समयमा गन्तव्यमा आइपुग्छ भन्ने जानकारी प्रदान गर्नेछ ।
यस सुविधाले सडकमा सवारी साधन कुर्दा लाग्ने समय बचत गर्नुका साथै सेवाग्राहीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ । एपमार्फत यात्रुहरूले आफ्नो बस कहिले आउने हो भन्ने जानकारी घरमै बसेर थाहा पाउनेछन् । यसले गर्दा अनावश्यक प्रतीक्षा गर्नु पर्ने झन्झट हट्नेछ ।

नगरपालिकाका प्रमुख दिर्घ बलायर र उपप्रमुख सुनिता जोरा
एम्बुलेन्स सेवामा जिपिएस जडान हुनु पनि आपत्कालीन अवस्थामा निकै उपयोगी सावित हुने विश्वास गरिएको छ । बिरामीको स्थानमा छिटो पुग्न र अस्पतालसम्म पु¥याउन जिपिएस ट्र्याकिङले महत्वपूर्ण भूमिका खेल्नेछ । यसले उद्धार प्रक्रियालाई प्रभावकारी बनाउनेछ ।
शिखर नगरपालिकाको यो कदमले जनताको सेवामा प्रविधिको प्रभावकारी उपयोगलाई पुष्टि गरेको छ । डिजिटल नेपाल अभियानलाई अघि बढाउन यसले सहयोग गर्नेछ भने स्थानीय तहमा प्रविधिमैत्री सेवा विस्तारको प्रेरणा प्रदान गर्नेछ । यातायात व्यवस्थापनलाई थप सुधार गर्दै यो प्रविधिले जनताको जीवनलाई सजिलो बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।













