खाद्य मापदण्ड उल्लंघन गर्ने तीन उद्योगविरुद्ध मुद्दा

काठमार्डौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले चालु आर्थिक वर्षमा बाँके जिल्लाका तीन उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित डिउ ड्रिप ड्रिङिङ वाटर उद्योगले पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ विपरीत उद्योग सञ्चालन गरेको, नियमित पानीको परीक्षण नगरेको, र उद्योग परिसरमा फोहर व्यवस्थापन नगरेको भन्दै ४ लाख ५० हजार रुपैयाँको मागदाबीसहित मुद्दा दायर गरिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोखरेलका अनुसार यस उद्योगको सम्बन्धमा उपभोक्ताबाट उजुरीसमेत परेका थिए। त्यसैगरी, नेपालगञ्ज–१८ स्थित क्वालिटी चाउमिन उद्योगले चाउमिन प्याकेटमा लेबल नलगाई बिक्री गरेको पाइएपछि खाद्य ऐन २०२३ अन्तर्गत गत कात्तिक २५ गते मुद्दा दर्ता गरिएको थियो।
प्रमुख पोखरेलका अनुसार, वाई के डिट्रिङ वाटर उद्योगविरुद्ध पनि अघिल्लो महिनामा मुद्दा दायर गरिएको छ।
अनुगमनका क्रममा बाँके र बर्दियाका विभिन्न उद्योगले खाद्य वस्तुमा मिसावट गर्ने, खाद्य व्यवसायका लागि आवश्यक अनुमति पत्र नलिने, र प्याक गरिएको खाद्य वस्तुमा लेबल नलगाई बिक्री गर्ने गरेको पाइएको थियो। यस्ता क्रियाकलापमा संलग्न उद्योगलाई सचेत गराइएको प्रमुख पोखरेलले जानकारी दिए।













