कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा

११ पुष २०८१, बिहीबार १६:३४

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक माथि डन्डा चलाउँदा डुब्नै लागेका विकास बैंक र फाइनान्सको शेयर मूल्यमा हलचल मच्चिएको छ । राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासन कमजोर रहेको, आर्थिक हिनामिनाको आशंका देखिएको, कमजोर तरलताका कारण निक्षेप दायित्व पूरा गर्न नसकेको र वित्तीय अपचलनको संकेत देखिएपछि बुधबार समस्याग्रस्त घोषणा गरेको हो ।

राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख अन्तर्गत बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गर्यो । यससँगै बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिने व्यवस्था गर्दै तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ, जसको संयोजक उप–निर्देशक टीकाराम खतिवडालाई बनाइएको छ । यस निर्णयपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर नेप्सेले रोक्का गर्यो ।

कर्णाली डेभलपमेन्ट बैंकको जस्तै नाजुक बनि रहेका अन्य विकास बैंक र फाइनान्स कम्पनीहरूको शेयर मूल्यमा भारी गिरावट आएको छ । कर्णालीकै समस्या देखाउँदै नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि लगातार घटिरहेको छ । यी विकास बैंकहरूको खराब कर्जा अनुपात उच्च स्तरमा पुगेको छ, जसले गर्दा थप संकटको संकेत दिएको छ ।

विशेषगरी नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ३४.८१ प्रतिशत पुगेको छ, जबकि सप्तकोशीको १४.७७ प्रतिशत, सिन्धुको ११.२९ प्रतिशत र एक्सेलको ११.७३ प्रतिशत रहेको छ । यी बैंकहरूको वित्तीय अवस्था थप कमजोर हुँदै गएकाले लगानीकर्ता त्रसित भएका छन् । यसले गर्दा आज विकास बैंकहरूको शेयर बजारमा रातो संकेतले हावी भएको छ ।

विकास बैंकहरूसँगै नेपालका फाइनान्स कम्पनीहरूले पनि संकट झेलिरहेका छन् । हालका ७ फाइनान्स कम्पनीहरूको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा बढी पुगेको छ । जानकी फाइनान्सको खराब कर्जा अनुपात ३४.६४ प्रतिशत रहेको छ, जबकि समृद्धि फाइनान्सको २३.४७ प्रतिशत, गुहेश्वरी फाइनान्सको १३.५६ प्रतिशत, नेपाल फाइनान्सको १०.३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८.७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८.५८ प्रतिशत र प्रोगेसिभ फाइनान्सको ७.४७ प्रतिशत रहेको छ ।

यी फाइनान्स कम्पनीहरूको वित्तीय अवस्था झनै कमजोर हुँदै गएकाले वित्तीय प्रणालीमा थप दबाब सिर्जना भएको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि लगानीकर्ताहरूले बजारमा रहेका कमजोर वित्तीय संस्थाहरूको शेयर बिक्री गरी आफ्नो पुँजी जोगाउन सक्रियता देखाएका छन् ।

हालको संकटलाई दृष्टिगत गर्दै राष्ट्र बैंकले दीर्घकालीन रणनीति अपनाउनु आवश्यक देखिएको छ । वित्तीय संस्थाहरूको दिगोपनाका लागि कठोर नियमन र प्रभावकारी सुधारका कदमहरूको आवश्यकता महसुस भइरहेको छ । यी कम्पनीहरुमा केन्द्रिय बैंकले जुनसुकै बेला जस्तो सुकै कारबाही गर्ने सक्ने देखिन्छ । भविष्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै अहिले लगानीकर्ता आफ्नो पुँजीको सुरक्षा तिर लागि रहेका छन् ।

नेपाल राष्ट्र बैंकलाई बैंकिङ्ग क्षेत्रको नियामक निकायको रूपमा धेरै जिम्मेवारीहरू प्राप्त छन्। यी जिम्मेवारीहरूमा बैंकहरूको वित्तीय सुरक्षा, निक्षेपकर्ताको हित संरक्षण र बैंकहरूको स्थायित्व सुनिश्चित गर्नु पर्छ । तथापि, राष्ट्र बैंकका नियामक कदमहरू प्रायः ढिलाइ र कमजोर कार्यान्वयनका कारण विफल भएको देखिन्छ । यसबाट बैंकिङ्ग क्षेत्रमा विकृति र अस्थिरता उत्पन्न भइरहेको छ ।

One thought on “कर्णालीमा चलेको डन्डाले टाट पल्टिन लागेका विकास बैंक र फाइनान्स त्रसित, ११ कम्पनी संकटको बाटोमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*