रहेनन् मनमोहन सिंहः भारतीय अर्थतन्त्रका जग र दूरदर्शी नेता

१२ पुष २०८१, शुक्रबार १०:५३

काठमाडौँ । भारतको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको आधारशिला राख्न मुख्य भूमिका निर्वाह गरेका पूर्व प्रधानमन्त्री तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. मनमोहन सिंहको निधन भएको छ। ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान मा उपचारकै क्रममा उनको देहावसान भएको हो।

डा. सिंहलाई स्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमा भर्ना गरिएको थियो। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका उनले सन् २००६ मा दोस्रो पटक बाईपास सर्जरी गराएका थिए, जसले उनको स्वास्थ्य अवस्थालाई थप चुनौतीपूर्ण बनाएको थियो।

डा. सिंहको जन्म सन् १९३२ सेप्टेम्बर २६ मा हालको पाकिस्तानस्थित पञ्जाब प्रान्तको गाह गाउँमा भएको थियो। भारत(पाकिस्तान विभाजनपछि उनी परिवारसहित भारत आएका थिए। शिक्षामा उत्कृष्ट डा। सिंहले क्याम्ब्रिज र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए, जहाँबाट उनले आफ्नो अर्थशास्त्रीय ज्ञानलाई नयाँ उचाइमा पुर्‍याए।

सन् १९८२ देखि १९८५ सम्म भारतीय रिजर्व बैंकका गभर्नरको जिम्मेवारी सम्हाल्दै बैंकिङ क्षेत्रमा सुधार गरेका डा। सिंहले सन् १९८५ देखि १९८७ सम्म भारतीय योजना आयोगको प्रमुखका रूपमा काम गरे। भारतीय अर्थतन्त्रमा सबल हस्तक्षेप गर्ने अवसर भने उनलाई सन् १९९१ मा वित्तमन्त्रीको रूपमा प्राप्त भयो।

त्यो समय भारत गम्भीर विदेशी मुद्रा संकटमा फसेको थियो। डा। सिंहले कठोर आर्थिक सुधार कार्यक्रम लागू गर्दै मुलुकलाई आर्थिक संकटबाट उबार्ने ऐतिहासिक कदम चाले। भारतको सुन धितो राखेर ऋण लिनु परेको घटनाले त्यतिबेलाको स्थिति झल्काउँछ। तर, डा। सिंहको दूरदर्शी नेतृत्वले भारतलाई आर्थिक उदारीकरणको बाटोमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेले।

डा। सिंहले सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले। यस अवधिमा उनले ग्रामीण क्षेत्रको उत्थान, सामाजिक सुरक्षा कार्यक्रम, र आधुनिक भारत निर्माणमा आफ्नो प्राथमिकता राखे। उनको नेतृत्वमा ‘मनरेगा’ जस्ता कार्यक्रमले ग्रामीण रोजगार सृजनामा योगदान दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*