केई इक्यूट–०४: एकैदिन ३० युनिट हस्तान्तरण, मूल्य २४ लाख ९६ हजार

काठमाडौं । चिनियाँ उत्पादन केई इक्यूट–०४ ईभी (इलेक्ट्रिक भेहिकल) नेपाली बजारमा एकैदिन ३० युनिट हस्तान्तरण गरिँदा इलेक्ट्रिक गाडी क्षेत्रमा यो एक महत्वपूर्ण घटना बनेको छ। नेपालका लागि जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीले यस गाडीलाई नेपाली उपभोक्तामाझ पुर्याएका हुन्। यी दुई कम्पनीले छुट्टाछुट्टै शोरुम सञ्चालन गर्दै बिहीबार एकैपटक ३० वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेका हुन्।
फाइभ डोर (पाँच ढोके) केई इक्युटर–०४ पहिलोपटक नाडा अटोशो २०२४ मा नेपाली बजारमा लन्च गरिएको हो। यो गाडी नेपालमा इलेक्ट्रिक सवारीसाधनप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रस्तुत गरिएको छ।
गाडीमा रहेको ४० किलोवाटको इलेक्ट्रिक मोटर र २८.०४ किलोवाट आवरको एलएफपी (लिथियम आयरन फस्फेट) ब्याट्रीले उत्कृष्ट प्रदर्शनको वाचा गर्दछ। एकपटकको पूर्ण चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने यो गाडी दैनिक प्रयोगका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत भएको छ।
आधुनिक फिचरहरूले भरिपूर्ण
केई इक्यूट ०४ आफ्नो आधुनिक फिचर र प्रविधिको कारणले ध्यान खिच्न सफल भएको छ। गाडीको क्याबिनमा सेन्टर एलसीडी टचस्क्रिन, ब्लुटूथ कनेक्टिभिटी, एप्पल कारप्ले र एन्ड्रोइड अटोको सपोर्ट छ। साथै, छ वटा स्पिकर रहेको उत्कृष्ट साउन्ड सिस्टमले यात्रा अझ रमाइलो बनाउँछ।

यो गाडीमा किलेस इन्ट्री, वानटच स्टार्ट, कन्सिल्ड इलेक्ट्रीक डोर ह्याण्डल तथा एड्भान्स इनर्जी रिकभरी सिस्टम जस्ता सुविधाहरू छन्। सुरक्षालाई विशेष प्राथमिकता दिँदै यसमा एबीएस (एण्टी लक ब्रेकिङ सिस्टम), ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन), टीसीएस (ट्रेक्शन कन्ट्रोल सिस्टम), टायरप्रेसर मोनिटरिङ सिस्टम र डिउल एयरब्याग पनि उपलब्ध छ।
विशेष मूल्य र बजार रणनीति
दुई कम्पनीले केई इक्यूट०४ को प्रारम्भिक मूल्य २४ लाख ९६ हजार रुपैयाँ तोकेका छन्। यो स्पेशल इन्ट्रोडक्टरी प्राइसले नेपाली उपभोक्तालाई आकर्षित गर्ने उद्देश्य राखेको देखिन्छ। गाडीको १६५ एमएम ग्राउन्ड क्लियरेन्सले नेपाली सडकका लागि उपयुक्त बनाउँछ।
नेपालमा इलेक्ट्रिक गाडीको लोकप्रियता बढ्दो छ। यस्तै, केई इक्यूट ०४ जस्ता गाडीहरूले यस क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। विशेषतस् एकैपटक ३० युनिट गाडी हस्तान्तरण भएको यो घटनाले उपभोक्ताको बढ्दो चासो र विश्वास झल्काउँछ।
जीओ अटोमोबाइल र लक्ष्मी ई मोबिलिटीको सहकार्यले नेपाली बजारमा इलेक्ट्रिक गाडीका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ। यी कम्पनीहरूले भविष्यमा अझ प्रभावकारी सेवा र उत्पादनहरू ल्याउने आशा गरिएको छ।














