अमेरिका पुनः पेरिस जलवायु सम्झौताबाट बाहिर, ट्रम्पको निर्णयले विश्वव्यापी प्रयासमा प्रभाव पार्ने जोखिम

८ माघ २०८१, मंगलवार १०:३९

वाशिंटन । नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल अमेरिकी समय अनुसार आजदेखि औपचारिक रुपमा शुभारम्भ गरेका छन् । शपथ लिए लगत्तै यसअघिका अमेरिकी राष्ट्रपति जोईबाईडेनले गरेका निर्णयहरु मध्ये ७८ वटा उल्टाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । मेक्सिकन आप्रबासीलाई बलपूर्वक देश निकाल्ने आदेश समेतमा हस्ताक्षर गरेलगत्तै बोर्डर पार सम्बन्धी एपहरु बन्द भएका छन् ।

गत वर्षको जनवरी ६ मा अमेरिकी राजधानीमा हुलदंगा मचाउने एक हजार पाँच सयभन्दा बढिलाई आम माफी दिने निर्णयसहितका थुप्रै निर्णयहरु पहिलो दिनमै सम्पन्न गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार औपचारिक रूपमा पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिर निकाल्ने आदेशमा हस्ताक्षर गरेका छन्। यो निर्णयले विश्वकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदूषणकर्तालाई जलवायु परिवर्तनविरुद्धको प्रयासबाट अलग गरेको छ।

यो कदमले अमेरिकालाई इरान, लिबिया र यमनसँगै राखेको छ, जो २०१५ को सम्झौताबाट बाहिर छन्। पेरिस सम्झौताले तापक्रमलाई पूर्वऔद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभित्र सीमित राख्नका लागि सबै देशहरूलाई प्रतिबद्ध गराएको थियो। तर, ट्रम्पले यो सम्झौतालाई अमेरिकी हितविरुद्ध रहेको ठहर गर्दै यसलाई “अन्यायपूर्ण” र “एकतर्फी” भनेका छन्।

वाशिंगटनको क्यापिटल वन एरिनामा हजारौं समर्थकहरूको उपस्थितिमा ट्रम्पले भने, “म अहिले नै अन्यायपूर्ण, एकतर्फी पेरिस जलवायु सम्झौताबाट बाहिरिने निर्णय गर्दैछु। चीनले निश्चिन्त प्रदूषण गर्न पाउँदा हामी आफ्ना उद्योगलाई नष्ट गर्न दिन सक्दैनौं।”

यस निर्णयले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा गम्भीर असर पार्न सक्ने देखिएको छ। फ्रान्सका पूर्व जलवायु वार्ताकार पउल वाटकिंसनले अमेरिकाको यो कदमले विश्वव्यापी प्रतिबद्धतामा धक्का पुर्‍याउने बताएका छन्। उनका अनुसार, अहिले संसार जलवायु सम्झौताको कार्यान्वयनको चरणमा छ, जहाँ यस्तो प्रस्थानले थप चुनौतीहरू खडा गर्दछ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाइँमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले स्थानीय सरकार, राज्य र व्यवसायहरूले भने जलवायु समन्न्दि कदम चाल्न आफ्नो प्रयास जारी राख्ने विश्वास व्यक्त गरेका छन्।

अमेरिकाको यो निर्णयले तेल र ग्यास उद्योगलाई थप बल पुर्‍याउने उद्देश्य राखेको देखिन्छ। फ्र्याकिङ प्रविधि र बढ्दो तेल उत्पादनका कारण अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल र प्राकृतिक ग्यास उत्पादक देश बनेको छ। ट्रम्पले भनेका छन्, “हामी बजेट सुदृढ गर्दै स्वच्छ हावा र पानी सुनिश्चित गर्न सक्छौं।”

तर, यस निर्णयले जलवायु परिवर्तनविरुद्धको लडाइँमा गम्भीर चुनौती थप्ने वैज्ञानिकहरूको चेतावनी छ। अहिले संसारको तापक्रम शताब्दीको अन्त्यसम्म ३ डिग्री सेल्सियसभन्दा बढीले बढ्ने खतरा रहेको छ। यसले समुद्री सतहको उचाइमा तीव्र वृद्धि, प्रचण्ड तातो लहरहरू, र विनाशकारी आँधीहरू निम्त्याउन सक्छ।

यसका अतिरिक्त, कदमले अमेरिका र चीनबीचको स्वच्छ ऊर्जा बजारमा प्रतिस्पर्धामा पनि असर पार्नेछ। एशिया सोसाइटी पोलिसी इन्स्टिच्युटका लि शुओका अनुसार, “अमेरिकाले आफ्नो स्थान गुमाउन सक्छ, र चीनलाई फाइदा हुनेछ।”

अमेरिकाले अब औपचारिक रूपमा संयुक्त राष्ट्र संघलाई आफ्नो निर्णयको सूचना दिनुपर्नेछ। सम्झौताका नियमअनुसार, यो निर्णय एक वर्षपछि लागू हुनेछ।

उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्दै संयुक्त राज्य अमेरिका विश्व स्वास्थ्य संगठनबाट बाहिरिने निर्णय गरेका छन्। ट्रम्पले यो कदमको महामारी र अन्य अन्तर्राष्ट्रिय स्वास्थ्य संकटहरूको गलत व्यवस्थापनको कारण उठाएको बताएका छन्। यसले विश्व स्वास्थ्य संगठनलाई आर्थिक अभाव हुन सक्नेछ ।

राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनले सदस्य राष्ट्रहरूको अनुपयुक्त राजनीतिक प्रभावबाट स्वतन्त्रता प्राप्त गर्न असफल भयो र अमेरिकाबाट अनौचित्यपूर्ण रूपमा ठूलो भुक्तानी मागेको आरोप लगाएका छन् । ‘विश्व स्वास्थ्यले हामीलाई धोका दिएको छ, सबैले अमेरिकालाई धोका दिएको छ। अब यसलाई रोक्नेछौं’ ट्रम्पले भने।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*