गणपति लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगतिः नाफासँगै ईपीएस वृद्धि

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवको दोस्रो त्रैमासमा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर १ करोड २३ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो।
सञ्चालन नाफा गत आवमा १ करोड ५३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १ करोड ७६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ७ करोड ५० लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४ करोड रुपैयाँ र सञ्चित मुनाफा ८३ लाख रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिएर ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ०८ पैसा र खराब कर्जा ४ दशमलव १३ प्रतिशत छ।












