सभामुख घिमिरेको आह्वान, ‘संसद सहमतिको संगमस्थल बन्नुपर्छ’

काठमाडौँ । सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिधि सभाको पाँचौं अधिवेशनको उद्घाटन गर्दै संसदलाई लोकतन्त्रको मन्दिरको रूपमा परिभाषित गर्दै यसको सफलताका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैको जिम्मेवारी रहने बताए।
सभामुख घिमिरेले संसदलाई जनताको आवाजलाई नीति निर्माणसम्म लैजाने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै बहस, छलफल र विवादलाई सहमतिको संगमस्थल बनाउनुपर्नेमा जोड दिए। ‘संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्छ’ उनले भने।
उनले राजनीतिक दलहरूलाई साँघुरो गल्लीमा सीमित नभई राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्न आह्वान गरे। साथै, सत्ता र प्रतिपक्षबीच तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसदलाई प्रभावकारी बनाउन आग्रह गरे।
‘सत्तापक्ष र प्रतिपक्ष दुवैले तर्क र विचारको सम्मानजनक आदानप्रदानबाट संसदलाई प्रभावकारी बनाउन दायित्व निर्वाह गर्नुहुनेमा म विश्वस्त छु’ घिमिरेले भने। उनले सहकार्य र परस्पर सम्मानबाट मात्र मुलुकका समस्याहरू समाधान गर्न सकिने र नीति निर्माणमा ऐतिहासिक सफलता प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे।
सभामुख घिमिरेले संसदको विगतका असल अभ्यासलाई निरन्तरता दिँदै राष्ट्र र जनताको हितमा काम गर्न सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको बताए।













