युके पठाइदिने भन्दै ३७ लाख ठगी

२१ माघ २०८१, सोमबार १८:१८

काठमाडौँ । आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसीमा बस्दै आएका ३२ वर्षीय मदन भण्डारी रहेका छन्।

उनीमाथि एक पीडितबाट ३७ लाख ५० हजार रुपैयाँ लिएको आरोप लागेको छ। भण्डारीले यूकेमा रोजगारीका अवसर मिलाइदिने प्रलोभन देखाउँदै रकम असुलेर सम्पर्कविहीन भएको पीडितले उजुरी दिएका थिए।

पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले भण्डारीलाई टेकु क्षेत्रमा पक्राउ गरेको हो। पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन वैदेशिक रोजगार विभाग पठाइएको छ।

अहिले वैदेशिक रोजगारीको नाममा ठगीका घटनाहरू बढ्दै गएका छन्। आकर्षक तलब र सुविधाको प्रलोभन देखाउँदै ठगी गर्ने गिरोह सक्रिय रहेको सुरक्षा निकायले जनाएको छ। यस्ता घटनाबाट जोगिन सम्बन्धित निकायले सजग रहन नागरिकलाई अपिल गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*