प्रधानमन्त्री ओलीद्वारा बिवादित पाठेघरको क्यान्सर रोक्ने खोपको उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निसन्तानको जोखिम निम्त्याउने आशंका गरिएको विवादित पाठेघरको क्यान्सर रोक्ने खोप अभियानको औपचारिक उद्घाटन गरेका छन्। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट हस्तान्तरण गर्दै अभियान सुरु गरेका हुन्।
आजदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत देशभरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिन लक्ष्य राखिएको छ।
खोप अभियान सुरु भए पनि यो खोपको सुरक्षाबारे विभिन्न आशंका उत्पन्न भएका छन्। केही स्वास्थ्य विज्ञहरूले यो खोपले किशोरीहरूको महिनावारी चक्रमा गम्भीर समस्या निम्त्याउने र निसन्तानको जोखिम बढाउने सम्भावना रहेको बताएका छन्।
तर, स्वास्थ्य मन्त्रालयले खोप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गर्दै यस्तो आशंकाको खण्डन गरेको छ। केही विज्ञहरूले खोप अभियानलाई लिएर सचेत रहन आग्रह गर्दै सरकारले खोपको प्रभावकारिताबारे थप अध्ययन गर्नुपर्ने बताएका छन्।













