आन्दोलनकारी र सरकारबीच सहमतिः केवलकार निर्माण कार्य स्थगित, पूर्वी नेपाल बन्द फिर्ता
२२ माघ २०८१, मंगलवार २२:५५

काठमाडौं । सरकार र नो केवलकार अभियानसहित अन्य जनजाति सम्बद्ध संगठनबीचमा भएको वार्ता तत्कालको लागि अस्थायी युद्धविराम गर्ने सहमतिमा सम्झौतामा भएको छ ।
आज राति अबेर भएको सम्झौता अनुसार तत्कालका लागि पाथिभरा केवलकारको स्टेशन निर्माण कार्य स्थगित गर्ने र मुक्कुमलुङ पक्षबाट आयोजना गरिएको बन्दका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।
अर्को वार्ता माघ २७ गते बस्ने र सो समयअघि दुवै पक्ष आ आफ्ना बन्दका कार्यक्रम र निर्माणका कार्यक्रम स्थगित गर्ने सहमति भएको हो ।
आज भएको सहमतिपछि साझा हस्ताक्षर भएको दस्तावेज सार्वजनिक भएको छ । उक्त सहमतिपत्रमा आन्दोलनकारीको तर्फबाट वार्ता कमिटीकी संयोजक सरस्वती सिंगक (सरु) र प्रेम प्रसाद भट्टराई सह सचिव वार्ता टोलीको संयोजक नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरिएको छ ।














