हिमालयन लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर ३७ करोड ६२ लाख रुपैयाँ पुगको छ। चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो।
गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दास्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आमदानी ८ रुपैयाँ ६३ पैसा रहेकोमा चालू आवमा बढेर ९ रुपैयाँ ३८ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ।












