अग्रवाल नेतृत्वको एमएडब्ल्यु हायर पर्चेजको वित्तीय सूचक चुनौतीपूर्ण, पौने ३ अर्ब ऋण लिँदै

काठमाडौँ । ब्यवसायी विष्णु कुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीले पौने ३ अर्ब ऋण लिन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।
कम्पनीले दीर्घकालिन ऋणका लागि एल डबल बी प्लसको रेटिङ पाएको छ भने अल्पकालिन ऋणका लागि ए फोर प्लसको रेटिङ प्राप्त गरेको छ । कम्पनीले दीर्घकालीन ऋण अन्तर्गत हायर पर्चेज पुनः वित्तीयकरण कर्जा योजना अन्तर्गत २ अर्ब ७१ करोड रुपैयाँ र अल्पकालीन ओभरड्राफ्ट अन्तर्गत ८ करोड रुपैयाँको ऋण व्यवस्थापन गरेको छ ।

पर्चेजको वित्तीय अवस्थालाई लिएर चिन्ताजनक अवस्था देखिएको छ । सन् २०२४ मा कम्पनीले कुल ४३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन सन् २०२३ मा भएको ४४ करोड रुपैयाँको तुलनामा ०.२२ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२२ मा ३८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । २०२५ को पहिलो त्रैमासमा कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख गरेको छ ।
कम्पनीको कुल व्यवस्थापन गरिएको पोर्टफोलियो पनि सन्तोषजनक देखिएको छैन । कम्पनीले पोर्टफोलियो भन्दा बढी ऋण लिन लागेको देखिएको छ । सन् २०२२ मा २ अर्ब ५५ करोड ४० लाख रुपैयाँ रहेको पोर्टफोलियो सन् २०२३ मा घटेर २ अर्ब ३७ करोड ३० लाख रुपैयाँमा झरेको थियो । यद्यपि सन् २०२४ मा २ अर्ब ४८ करोड ४० लाख पुगे पनि यो स्थिर सुधारको संकेत दिन सकेको छैन ।
गैर–कार्यकारी सम्पत्ति पनि सुधारोन्मुख हुन नसकेको देखिन्छ । सन् २०२२ मा ४.९९ प्रतिशत रहेको यो सूचक २०२४ मा घटेर ४.१९ प्रतिशत पुगेको भए पनि सन् २०२५ को पहिलो त्रैमासमा पुनः बढेर ४.३६ प्रतिशत पुगेको छ । यो वृद्धिले कम्पनीको ऋण व्यवस्थापन क्षमतामा गम्भीर कमजोरी देखाएको हो ।
कम्पनीले ९० दिनभन्दा बढी विलम्बित ऋणलाई नियन्त्रण गर्ने प्रयास गरे पनि अपेक्षित सुधार देखिएको छैन । सन् २०२४ मा यो सूचक ५.८५ प्रतिशतमा झरेको भए पनि २०२५ को पहिलो त्रैमासमा यो पुनः बढेर ७.७५ प्रतिशत पुगेको छ । यो अवस्था कम्पनीको ऋण असुली क्षमतामा प्रश्न उठाएको छ ।
कुल व्यवस्थापन गरिएको सम्पत्ति घट्दै गएको र गियरिङ अनुपातमा सुधार आउन नसकेको सकेको छैन । कुल व्यवस्थापन गरिएको सम्पत्ति पनि सन् २०२२ मा २ अर्ब ७२ करोड ९० लाखबाट क्रमशः २ अर्ब ५७ करोड, २ अर्ब ६० करोड ८० लाख र सन् २०२५ पहिलो त्रैमाससम्ममा २ अर्ब ६८ करोड ५० लाख रुपैयाँ पुगेको छ । व्यवस्थापन गरिएको गियरिङ अनुपात भने २०२२ मा ३.२१ पटकबाट घट्दै २०२५ को पहिलो त्रैमासमा २.८५ पटकमा झरेको छ ।

शुद्ध सम्पत्ति पनि क्रमशः सन् २०२२ मा ४९ करोड ४० लाख, सन् २०२३ मा ५० करोड र सन् २०२४ मा ५७ करोड १० लाख रुपैयाँ पुगेको छ । शुद्ध गैर–कार्यकारी सम्पत्ति÷शुद्ध सम्पत्तिको अनुपात पनि २०२२ मा –०.३२ प्रतिशतबाट क्रमशः १.२४ प्रतिशत मा सुधार भएको छ ।
कम्पनीको पोर्टफोलियोमा दुई पाङ्ग्रे सवारी साधनहरूको प्रभुत्व रहेको छ । सन् २०२५ को पहिलो त्रैमाससम्म यसको कुल पोर्टफोलियोमा ३५ प्रतिशत हिस्सा दुई पाङ्ग्रे सवारी साधनहरूको रहेको छ भने सोही अवधिमा ५७ प्रतिशत नयाँ कर्जा वितरण दुई पाङ्ग्रे सवारी साधनहरूको लागि गरिएको छ । औसत टिकट साइज ३ लाख १० हजार रुपैयाँ र कम लोन टु भ्यालु (५०–५५ प्रतिशत) स्तर कम्पनीका सकारात्मक पक्ष हुन् । एमएडब्ल्यु समूहको हिस्सा रहेको यस कम्पनीको ५५ वर्षभन्दा लामो इतिहास छ । एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि र एमएडब्ल्यु अर्थमुभर्स प्रालिका संयुक्त ७० प्रतिशत हिस्सेदारी रहेको कम्पनीलाई यी प्रवद्र्धक संस्थाहरूले क्रेडिट लाइनको लागि कर्पोरेट ग्यारेन्टी उपलब्ध गराउँदै आएका छन् । कम्पनीको ९२ प्रतिशत पोर्टफोलियो आफ्नै समूहका सवारी साधनहरूको वित्तीयकरणबाट आएको छ ।
एमएडब्ल्यु हायर पर्चेज प्रालि नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार सञ्चालन हुने एक महत्वपूर्ण वित्तीय संस्था हो । यो कम्पनीको दर्ता कार्यालय मोरङको विराटनगरमा रहेको छ भने प्रमुख शाखा काठमाडौंको त्रिपुरेश्वरबाट सञ्चालन भइरहेको छ । कम्पनी एमएडब्ल्यु समूहको हिस्सा हो, जसले सन् १९६५ मा अटोमोबाइल वर्कसपको रूपमा आफ्नो यात्रा सुरु गरेको थियो । अहिले समूहले निर्माण उपकरण, चार पांग्रे सवारी साधन, दुई पांग्रे सवारी साधन र व्यावसायिक सवारी साधन लगायतका विभिन्न खण्डहरूमा व्यापार गर्दै आएको छ ।
एमएडब्ल्यु हायर पर्चेज प्रालि मुख्य रूपमा आफ्नै समूहका सहायक कम्पनीहरूद्वारा बिक्री गरिएका सवारी साधनको वित्तीयकरणमा केन्द्रित छ । कम्पनीले दुई पांग्रे सवारी साधनको वित्तीयकरणलाई प्राथमिकता दिँदै आएको छ । एमएडब्ल्यु हायर पर्चेज प्रालिका शेयरधनीहरूमा एमएडब्ल्यु इन्टरप्राइजेज प्रालि (४० प्रतिशत), एमएडब्ल्यु अर्थमुभर्स प्रालि (३० प्रतिशत), विष्णु कुमार अग्रवाल (२९.५ प्रतिशत) र प्राणनाथ भट्टराई (०.५ प्रतिशत) रहेका छन् । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल रहेका छन् ।













