चन्द्र ढकालको कटाक्ष, ‘सामाजिक सञ्जालले मलाई विदेशी दलाल बनाइसक्यो’

२४ माघ २०८१, बिहीबार १२:१७

काठमाडौँ । बुधबारदेखि काठमाडौंमा सुरु भएको क्यान इन्फोटेक २०२५ को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जालको गलत प्रयोग र सूचना प्रवाहमा भएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालले आफूमाथि गरिएको आरोपबारे पनि कटाक्ष गर्दै थपे, ‘सामाजिक सञ्जालले मलाई विदेशी दलाल बनाइसकेको छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न म मन्त्रीलाई आग्रह गर्दछु।’

उनले प्रविधि क्षेत्रमा क्यान महासंघको योगदानको प्रशंसा गर्दै वर्तमान चुनौतीहरूप्रति धारणा राखे। ढकालले भने, ‘आइटी क्षेत्रले गरेको उपलब्धिमा क्यानको महत्त्वपूर्ण भूमिका छ। तर सोसियल मिडियाको गलत प्रयोगले जनतालाई सही सूचनाबाट वञ्चित गरिरहेको छ।’

उनले केही राजनीतिक नेताहरूले पाथीभरा केबलकार निर्माणलाई लिएर भ्रामक प्रचार गरेका प्रति पनि आक्रोश पोखेका थिए। ढकालले भने, ‘चिप पपुल्यारिटीका लागि नेताहरूले गलत भास्य पैदा गरेर गलत प्रचार गरिरहेका छन्। यो प्रवृत्ति निरुत्साहित गर्न आवश्यक छ।’

प्रविधिको सही उपयोगका लागि सहकार्यको आवश्यकता रहेको धारणा राख्दै ढकालले सूचना प्रविधि क्षेत्रमा सरकार र निजी क्षेत्रको सक्रिय भूमिका अपरिहार्य रहेको बताए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*