सूचना प्रविधिलाई सक्रिय बनाउन सरकारको प्रतिबद्धताः मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले अहिलेसम्म उल्लेखनीय काम गर्न नसकेको स्वीकार गरेका छन्। बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले मन्त्रालयले आगामी दिनमा सूचना तथा प्रविधि सम्बन्धी नीतिहरू चाँडो निर्माण गर्ने प्रतिवद्धता जनाए।
मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले अध्यादेशमार्फत महत्वपूर्ण कानुन बनाउने योजना अघि सारेको बताए। उनले भने, “हामीले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ। नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ।”
उनले आगामी वर्षदेखि आईटी पार्क र नलेज पार्क निर्माण गर्ने सरकारको लक्ष्य रहेको पनि बताए। सूचना प्रविधि क्षेत्रको विकासलाई तीव्र बनाउन सरकारले आवश्यक वातावरण निर्माण गरिरहेको मन्त्री गुरुङको भनाइ छ।
मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरूलाई सहयोग गर्ने वातावरण तयार पार्ने विषयमा सरकार गम्भीर रहेको बताए। उनका अनुसार सरकारले प्रविधि सम्बन्धित विभिन्न स्थानमा रहेका संस्थाहरूको विकासका लागि कदम चालिसकेको छ।
क्यान इन्फोटेकको ३०औं संस्करण बुधबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। यो प्रदर्शनी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिहरूको प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च हो। सूचना प्रविधि प्रदर्शनीमा विभिन्न आईटी कम्पनी, सेवा प्रदायक र प्रविधि उद्यमीहरूको सहभागिता रहेको छ।
उद्घाटन समारोहमा मन्त्री गुरुङले सूचना प्रविधिको महत्वलाई जोड दिँदै यो क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डका रूपमा लिनुपर्ने धारणा राखे। उनले नेपाली आईटी कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्न आवश्यक रहेको उल्लेख गरे।
क्यान इन्फोटेक २०२५ प्रदर्शनीमा विभिन्न प्रविधि सम्बन्धी प्रदर्शनी स्टल, कार्यशाला र छलफल कार्यक्रमहरू समावेश गरिएका छन्। यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यवसायी तथा आम नागरिकका लागि ज्ञानवर्द्धक अवसर प्रदान गर्ने विश्वास गरिएको छ।













