बङ्गलादेशमा फेरि भड्कियो हिंसा, शेख मुजीबुर रहमानको निवासमा आक्रमण

काठमाडौँ । बंगलादेशको संस्थापक शेख मुजीबुर रहमानको धनमण्डी ३२ स्थित स्मारक र निवासमा सोमबार बेलुकी उग्र भीडले तोडफोड गरेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको एक विवादित भनाइपछि आक्रोशित भीडले यो घटना घटाएको हो।
भीडले मुख्य गेट भत्काउँदै निवासभित्र प्रवेश गरी तोडफोड गरेको थियो। उनीहरू भवनमा चढेर भौतिक क्षति पुर्याउन थालेपछि स्थिति भयावह बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आक्रमणकारीहरूले घरको माथिल्लो तल्ला जलाएकोसमेत जानकारी प्राप्त भएको छ। घटना सम्बन्धी फुटेज सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ।
यो आक्रमण शेख मुजीबुर रहमानको निवासमा भएको दोस्रो घटना हो। यसअघि शेख हसिनाले पद त्याग गरी देश छाडेपछि पनि यो भवनलाई निशाना बनाइएको थियो। आक्रमणकारीहरूले यस भवनलाई अधिनायकवाद र फासीवादको प्रतीक भन्दै नारा लगाएका थिए।
शेख हसिनाले यस घटनाको कडा निन्दा गर्दै आफ्नो बाल्यकालका सम्झनाहरू नष्ट गर्न खोज्ने प्रयास भए पनि आफ्नो परिवारको इतिहास मेटिन नसक्ने बताएकी छिन्। उनले घर जलाउन सकिए पनि आफ्नो परिवारको धरोहरलाई समाप्त गर्न नसकिने धारणा राखेकी छिन्।
पछिल्लो समय शेख हसिनाले पद र देश दुबै छाडेपछि मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। तर यो सरकारले देशमा बढ्दो अराजकता र धार्मिक उग्रवादप्रति बेवास्ता गरेको आरोप लागेको छ। विशेषगरी हिन्दु र अहमदिया समुदायमाथि भएको आक्रमणले बंगलादेशमा धार्मिक असहिष्णुता बढेको देखिएको छ।
ह्युमन राइट्स वाचको एक हालैको प्रतिवेदनमा धार्मिक अल्पसंख्यक समुदायलाई शेख हसिनाको अवामी लिग पार्टीको पारम्परिक समर्थनका कारण निशाना बनाइएको उल्लेख गरिएको छ।













