बिचौलियालाई प्रचण्डको चेतावनी, ‘सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन’

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारलाई कब्जा गरेको बिचौलिया र स्वार्थ समूहलाई कडा चुनौती दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारप्रति जनताको असन्तुष्टि बढे पनि बिचौलिया स्वार्थ समूह खुसी भएको बताए।
‘जनता दुःखी भए पनि बिचौलियाहरू निकै खुसी देखिन्छन्। तर, म तिनलाई स्पष्ट भन्न चाहन्छु— सरकारलाई किनेर पाएको उन्मुक्ति स्थायी हुनेछैन’ उनले चेतावनी दिए।
प्रचण्डले राज्यका स्रोतसाधन बिचौलिया र स्वार्थ समूहको कब्जामा सधैं नरहने उल्लेख गर्दै सुशासनको पुनर्स्थापना गर्ने अठोट व्यक्त गरे। ‘तपाईंहरूले कब्जा गरेका स्रोतसाधन सधैंका लागि तपाईंहरूसँग हुने छैनन्। म चुनौतीका साथ भन्न चाहन्छु- ती फाइल फेरि खोलिनेछन्। हामी फेरि सुशासन ल्याउनेछौं’ प्रचण्डले दृढताका साथ भने।
प्रचण्डले बिचौलिया र राजनीतिककर्मीको अवैध गठजोड तोड्न माओवादी केन्द्र दृढ रहेको बताए।













