अर्थमन्त्रीद्वारा बजेट माथि गालिगलौज, अर्धवार्षिक समिक्षा मार्फत सुधार्ने उद्घोष

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले बजेट निर्माणमा स्पष्टता नराखेको आरोप लगाउँदै अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा तीव्र आलोचना गरेका छन् । पौडेलले चालु आर्थिक वर्षको बजेटलाई मुलुकका लागि बोझ को संज्ञा दिँदै बजेट कार्यान्वयनको प्रक्रिया नै समस्याग्रस्त भएको धारणा राखे ।
संसद्मा बोल्दै पौडेलले भने, ‘बजेट भनेको स्रोत व्यवस्थापन र कार्यान्वयन सुनिश्चितताको आधारमा तयार गरिने दस्तावेज हो । तर, वर्षमान पुनले तयार पारेको बजेटमा कुनै विश्वासिलो आधार नभई केवल सुन्दर शब्द भरिएका छन् । यो कुनै सिद्धान्तमा आधारित छैन, जसले गर्दा कार्यान्वयनमा गम्भीर कठिनाइ देखा परेको छ ।’
अर्थमन्त्री पौडेलले बजेटमा संघीय सरकारले ७५ हजारसम्मका योजना कार्यान्वयन गर्ने निर्णयलाई अव्यवहारिक रहेको तर्क गरे । ‘केन्द्र सरकारले यति साना योजनामा संलग्न हुने हो भने प्रदेश र स्थानीय तहले के गर्ने?’ उनले प्रश्न गरे ।
पौडेलले बजेट निर्माणमा प्रदेश र स्थानीय तहसँग छलफल नगरी ११ हजारभन्दा बढी योजनाहरू मनलाग्दी तरिकाले समेटिएको बताए । ‘बिना अध्ययन बजेटमा केहि लाख र हजार अंक राखेर योजना थप्नु गैरजिम्मेवार कदम हो । यस्तो गर्दा बजेट छरपष्ट हुन्छ’ उनले थपे ।
पौडेलले बजेटको रातो किताब लाई उदाहरण दिँदै वर्षमान पुनले बजेट निर्माणमा अलमल भएको दाबी गरे । ‘योजना निर्माणमा जवाफदेहिता नभएकोले बजेट प्रभावकारी हुन सकेन। यो बजेटमा बीमा लगायतका दायित्वहरूको कुनै स्पष्ट विवरण छैन । यस्तो बजेट कार्यान्वयन नै असम्भव छ’ पौडेलले स्पष्ट पारे ।
अर्थमन्त्री पौडेलले बजेट निर्माणका क्रममा छलफल र सुझावलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै पुनको नेतृत्वमा बनेको बजेटलाई आर्थिक असंगतिहरूको चाङ को रूपमा चित्रण गरे । चालु आर्थिक वर्षको बजेटमा थुप्रिएका असंगतिहरूलाई मध्यवधि मूल्यांकनमार्फत सुधार गर्ने प्रयास जारी रहेको पौडेलले बताए । ‘बजेट कार्यान्वयनका क्रममा सच्चाउँदै जाने प्रयास गरिरहेका छौं। पुरानै कार्यान्वयनमा ध्यान दिएर नयाँ सुधारको पहल आवश्यक छ’ उनले स्पष्ट पारे ।
पौडेलले वर्तमान सरकारको प्राथमिकता आर्थिक स्थायित्व र विकास भएको उल्लेख गर्दै भने, ‘अब हामीले असंगत बजेटलाई सुधार गरेर आर्थिक प्रगतिका दिशामा अघि बढ्नुपर्ने चुनौती छ ।’
पौडेलले वर्षमान पुनले संघीय सरकारले तीन करोडभन्दा कमका योजना नराख्ने निर्णयलाई मन्त्रीपरिषद्मा बेवास्ता गरेको पनि आरोप लगाए । ‘उनले ७ हजार योजनामा ११ हजार योजना थपेर अध्ययनविना बजेटमा समावेश गरेका छन्। यो गम्भीर त्रुटि हो’ पौडेलले भने । वर्षमान पुनले ल्याएका बजेटमा अनेकौं तृटि रहेको हुँदा हुँदै पनि आफुले मध्यवादबाट सच्चाउने गरी काम गरेको रहेको तर्क राखे । तर, वर्षमान पुनले धन्यवाद दिनुपर्नेमा आचोचना गरेको बताए ।
माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले लगाएको आरोप पृष्टि गर्ने समेत अर्थमन्त्री पौडेलले चुनौति दिए । उनले अर्थतन्त्रको डाटा समेत गतल र भ्रामक प्रस्तुत गरेको बताए । प्रचण्डले ब्यवसायीमैत्री बातावरण सिर्जना गर्दा बिचौलियाको संज्ञा दिएको कुरा प्रस्तुत गरे ।
लगानीमैत्री वातावरण सुरक्षित गर्ने र जनताका समस्या समाधानका लागि अध्यादेश आएको बताए । अध्यादेश कार्यन्वयनमा आए अर्थतन्त्र चलयमान हुने उनको दाबी रहेको छ ।













