कर्मचारी विवादले नेरुडे मिर्मिरे लघुवित्तको वित्तीय अवस्था दयनीय, ६ महिनामा ६ करोड रुपैयाँ नोक्सानमा

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार यस अवधिमा संस्थाका विभिन्न प्रमुख वित्तीय सूचांकहरुमा गिरावट आएको छ । समीक्षा अवधिमा नेरुडे मिर्मिरे लघुवित्त ६ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष भने २ करोड ४८ लाख नाफा कमाएको थियो ।
मर्जरपछि उत्पन्न भएको विवाद र कर्मचारीहरुको समस्यालाई सम्बोधन गर्न नसक्दा कम्पनीको वित्तीय अवस्था दयनीय बन्न पुगेको छ । यस अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज ७ करोड ५७ लाखबाट बढेर २६ करोड २४ लाख पुगेको छ । संस्थाले ६ करोड ८६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।
समीक्षा अवधिमा संस्थाको निक्षेप संकलन सामान्य बढेको छ भने र कर्जा लगानीमा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने १६१.३४ प्रतिशतले बढेको छ । यो लघुवित्त प्रतिसेयर ८.९७ रुपैयाँ नोक्सान (वार्षिक) मा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १८४.२४ रुपैयाँ छ ।
मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा उत्पन्न भएको विभिन्न विवादहरुले संस्थालाई वित्तीय प्रगति हासिल गर्न असफल बनाइरहेको देखिन्छ ।












