चार संस्थाको एउटै स्वरः ‘भ्रमका पछि नलागौं, नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छन्’

काठमाडौँ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। संघहरुले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधिहरु र सामाजिक संजालमा फैलाइएका भ्रामक सूचनाहरु प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
संघहरुले नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरुको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक त्रैमासिक रुपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको र जोखिम बहन गर्ने क्षमताका साथ यी संस्थाहरु सुरक्षित रहेको बताएका छन्। साथै, प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत् सुरक्षित रहेको स्मरण गराएका छन्।
विज्ञप्तिमा आम जनमानसलाई सामाजिक संजालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति कुनै ध्यान नदिन आग्रह गरिएको छ। संघहरुले केवल सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रुपमा लिन सुझाव दिएका छन्।
संघहरुले गलत अभिव्यक्ति दिने, समाजमा त्रास फैलाउने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानूनी कारवाही गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, बैंकिङ्ग क्षेत्रमा विश्वास कायम राख्दै सही सूचना पुऱ्याउन सहयोग गर्ने सञ्चार माध्यम र सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै सुदृढ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।













