इमेज सहकारीका ५४७ बचतकर्तालाई १ करोड फिर्ता

काठमाडौँ । इमेज बचत तथा ऋण सहकारी संस्थाले ढोरपाटन र गलकोट सेवा केन्द्रका ५४७ जना बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरेको छ। जिल्ला अदालत बागलुङमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग बचतकर्ताले मिलापत्र गरेपछि यो प्रक्रिया सुरु भएको हो। एक लाख रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने निर्णयसँगै ढोरपाटनका ९२ जना बचतकर्ताले ३७ लाख रुपैयाँको चेक बुझेका छन् भने गलकोटका १४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको छ।
गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले दुई दिनभित्र बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरिएको जानकारी दिइन्। उनका अनुसार इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा रकम फिर्ता गरिएको हो। ‘छिट्टै सबै बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनेछन्,’ उनले बताइन्।
सहकारीले बाँकी बचतकर्तालाई रकम फिर्ता गर्न मिना ग्रुप कम्पनी प्रालिसँग सम्झौता गरेको छ। सहकारीका बाँकी २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ बराबरको रकम घरसार प्रक्रियामार्फत समाधान गर्ने योजना अघि सारिएको छ।
गत पुस २६ गतेसम्म सहकारी ठगी मुद्दामा पीडित ५४७ जनाले सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग मेलमिलाप गरेका थिए। बचतकर्ताले नेपालीको घरायसी सम्पत्तिबाट पाउनुपर्ने रकम पाएको भन्दै बिगो दाबी नगर्ने सहमति जनाएका हुन्।
जिल्ला अदालत बागलुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गराउने आदेश दिएको छ। अदालतको आदेशमा दफा ११८ को प्रावधानअनुसार सहमति गराइएको उल्लेख छ। यद्यपि, अध्यक्ष नेपाली पुर्पक्षका लागि हाल थुनामा नै रहेका छन्।












