मानुषी लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नोक्सानी सुधार्दै नाफामा गएको हो।
यस वर्ष कम्पनीको सञ्चालन नाफा धनात्मक भएकाले कम्पनी खुद नाफामा गएको हो। गत वर्ष कम्पनीको सञ्चालन नाफा १ करोड ७७ लाख रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा यसलाई सुधार्दै १४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।
यससँगै गत वर्ष ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी पनि चालू आवमा धनात्मक भएको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा ३२ रुपैयाँ ५२ पैसा ऋणात्मक रहेकोमा चालू आवमा १ रुपैयाँ ८० पैसा धनात्मक रहेको छ। यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङमा ५९ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ९० लाख रुपैयाँ सञ्चित रहेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
गत आवमा कम्पनीको निष्क्रिय कर्जा ७ दशमलव ९० प्रतिशत रहेकोमा चालू आवमा घटेर ५ दशमलव ४८ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३० पैसा रहेको छ।












