स्टक एक्चसेञ्जबारे बोल्यो रास्वपा, नेप्सेलाई स्तरउन्नति गरेर मात्र लाइसेन्स दिन माग

काठमाडौं । पछिल्लो समय नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्को बहस चलिरहेको छ। यो विषयलाई लिएर व्यापक छलफल र आरोप–प्रत्यारोप भइरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्नो धारणा स्पष्ट पारेको छ।
आइतबार प्रतिनिधि सभामा बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले अहिलेको नेप्से (नेपाल स्टक एक्सचेञ्ज) लाई स्थिरीकरण नगरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत हुने धारणा राखेका छन्। उनले नेप्सेको स्तरउन्नतिमा प्राथमिकता दिनुपर्ने र नयाँ स्टक एक्सचेञ्जको स्थापना गर्ने प्रक्रिया पारदर्शी र मापदण्डयुक्त हुनुपर्नेमा जोड दिए।
सांसद पराजुलीले प्रतिनिधि सभामा भने, ‘हामी प्रतिस्पर्धात्मक सेवा प्रदायक संस्था चाहन्छौं, तर नेप्से स्थिरीकरण नगरी, सुधार नगरी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनु झन ठूलो समस्या निम्त्याउने छ।’
उनले नेप्सेको सञ्चालन संरचना र प्रविधिगत सुधारमा ध्यान दिनुपर्ने आवश्यकतामाथि जोड दिए। रास्वपाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियामा भ्रष्टाचार र घुसखोरी भएको आरोपलाई गम्भीर रूपमा लिएको छ। पराजुलीले संसदमा बोलेका शब्दमा भनियो, ‘स्टक लाइसेन्स प्रक्रियामा जग्गा किनबेचको हल्ला छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच अर्बसम्मको चलखेलको विषय उठाउनुले गम्भीर शंका उब्जाएको छ।’
पराजुलीले सरकारको अनियमित प्रक्रिया र निर्णयमाथि कडा आपत्ति जनाउँदै भने, ‘अदालतको संवैधानिक इजलास र अख्तियारमा विचाराधीन मुद्दाहरूलाई वेवास्ता गर्दै सरकारले लाइसेन्स प्रक्रिया अघि बढाएकोमा हाम्रो घोर आपत्ति छ। सरकारबाट स्पष्ट जवाफ माग गर्छौं।’
यसअघि प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि संसदमा सरकारलाई बिचौलियाको दबाबमा स्टक एक्सचेञ्ज लाइसेन्स दिन लागेको आरोप लगाएका थिए। उनले संसदबाटै भ्रष्टाचारको हल्ला बाहिर आएको भन्दै सरकारलाई कडा आलोचना गरेका थिए।












