डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०२ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा १२ करोड १३ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर २४ करोड ५६ लाख रुपैयाँ पुगेको हो। चालू आवमा सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफा बढ्न टेवा पुगेको हो।
गत आवमा कम्पनीको सञ्चालन नाफा १७ करोड ३३ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ३६ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ५८ करोड ८६ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ९९ करोड ४६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वितरणयोग्य नाफा ४२ करोड ३० लाख रुपैयाँ छ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित मुनाफामा ४२ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ११ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन र २४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
नाफा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। कम्पनीको ईपीएस गत आवमा १५ रुपैयाँ ६४ पैसा रहेकोमा चालू आवमा बढेर २८ रुपैयाँ ८० पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ हजार ४९९ रुपैयाँ २० पैसा र निष्क्रिय कर्जा ६ दशमलव ०९ प्रतिशत रहेको छ।












