पाथिभरामा सयौं लालिगुराँस फेरि काटियो, गृहमन्त्री लेखकको भूमिका शंकास्पद

काठमाडौं । विवादित रुपमा निर्माण सुरु गरिएको ताप्लेजुङस्थित पाथिभरा (मुक्कुम्लुङ) को पहाडमा पाथिभरादेवी दर्शन केवलकार बनाउने भन्दै पुनः लालिगुराँस काट्ने काम सुरु गरिएको छ ।
ताप्लेजुङस्थित पाथिभराको पहाडमा केही दर्जन व्यक्तिहरु पुगेर लालिगुराँसको रुखहरु धमाधम काटिरहेको ताप्लेजुङबाट प्राप्त खवरमा जनाइएको छ । मुक्कुम्लुङ बचाऊ अभियान सम्बन्धी पेजमा पनि पाथिभराको पहाडमा रुख काटिएको भन्दै बिरोध जनाइएको छ ।
उता, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले भने रुख काटिएको खवर आफूले नपाएको बताए । साथै उनले रुख काट्ने सिडिओ कार्यालयबाट अनुमति लिनु नपर्ने भएकोले थाहा नभएको बताए । सिडिओ शर्माले दुई पक्षका बीचमा भिडन्त भएछ भने आफूहरुले समन्वय गर्ने समेत बताए ।
काठमाडौंमा वार्ता चलिरहेको बेला उता, धमाधम लालिगुराँसको रुख काटिनुलाई रहस्यमय रुपमा हेरिएको छ ।

ताप्लेजुङमा यसअघि पनि डिपिआर भन्दा बढि रुख काटिएको आरोप स्थानीयबासीले लगाएका छन् । राष्ट्रिय फूल लालिगुराँस काटिएको सम्बन्धमा चर्को विरोध भइरहेको भएपनि सो बिषयमा कुनै कारवाही गरिएको छैन । गृहमन्त्री रमेश लेखकले पाथिभरा क्षेत्रमा निर्दोष जनताको छातीमा गोली हान्न आदेश दिने सिडिओसहितका उच्च पदस्थ सुरक्षाकर्मीको सरुवा समेत नगरी जघन्य अपराधमा संलग्न व्यक्तिहरुको संरक्षण गरिरहेका छन् ।
एउटै संविधान अनुसार गाई काट्नेलाई जेल हाल्दै आएको सरकारले राष्ट्रिय फूल लालिगुराँसका सयौं रुखहरु काट्ने अभियुक्तहरुलाई उन्मुक्ति दिँदै आएका छन् । यसबाट गृहमन्त्री लेखकको आईएमई ग्रुपसँग के सम्बन्ध गाँसिएको छ ? भनेर प्रश्न उठेको छ ।














