बैंकहरुमा ऋणको माग बढ्दोः आवासीय र रियल इस्टेट कर्जा वृद्धि, कुनले कति प्रवाह गरे ?

काठमाडौँ । थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेसँगै बैंकिङ प्रणालीमा कर्जाको माग निरन्तर बढ्दै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जा र रियल इस्टेट कर्जामा ठूलो रकम प्रवाह गरेका छन् । यो वृद्धि ब्याजदरमा आएको गिरावट र अर्थतन्त्रमा सुधारको संकेत हो ।
बैंकहरूबाट अफिस भवन, शपिङ मल, औद्योगिक परिसर, होटल तथा अपार्टमेन्ट कम्प्लेक्स निर्माणका लागि कमर्सियल रियल इस्टेट कर्जाको माग बढिरहेको छ । त्यस्तै, व्यक्तिगत घर बनाउने र जग्गा खरीद गर्नेहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै कर्जाको ब्याजदर घट्नु यसको मुख्य कारण मानिएको छ । निक्षेपको ब्याजदर घट्दा बैङ्कहरूको लागत घटेको र सोही आधारमा कर्जाको ब्याजदर सस्तिएको तथ्य बैंक अधिकारीहरू बताउँछन् ।
आवासीय कर्जा
नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुष मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जामा ३ खर्ब २२ अर्ब ५ करोड ४ लाख रुपैयाँ प्रवाह गरेका छन्। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५.५१ प्रतिशतले बढी हो । गत आवको पुष मसान्तसम्ममा यो रकम ३ खर्ब ६ अर्ब ११ करोड रुपैयाँ मात्र थियो ।
हाल नेपालमा २ करोड रुपैयाँसम्मको घर कर्जालाई व्यक्तिगत आवासीय कर्जाको रूपमा गणना गरिन्छ । २ करोड रुपैयाँभन्दा माथिको घर कर्जा भने रियल इस्टेट कर्जामा वर्गीकृत गरिन्छ । पछिल्लो समय २ करोड रुपैयाँसम्मको आवासीय कर्जामा उल्लेख्य वृद्धि भएको पाइन्छ ।
यसअवधिमा सर्वाधिक आवासीय कर्जा प्रभाव गर्नेमा एनआईसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । बैंकले ५२ अर्ब ६४ करोड ८८ लाख रुपैयाँ कर्जा दिएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकले ३८ अर्ब ४९ करोड, २७ करोड २४ लाख, राष्ट्रिय वाणिज्य बैंकले २६अर्ब ९२ करोड, एभरेष्ट बैकले २२ अर्ब ८२ करोड, लक्ष्मी सनराइज बैंकले १८ अर्ब ३९ करोड, एनएमबि बैंकले १६ अर्ब ५१ करोड, प्रभु बैंकले १३ अर्ब ४७ करोड, सिद्धार्थ बैंकले १३ अर्ब १९ करोड,कुमारी बैकले १२ अर्ब ६८ करोड र कृषि विकास बैैंकले ११ अर्ब १५ करोड रुपैयाँ आवासीय कर्जा प्रभाव गरेका छन् । अन्य ९ बैंकले १० अर्ब तल कर्जा प्रभाव गरेका छन् ।

रियल इस्टेट कर्जा
रियल इस्टेट कर्जामा पनि माग बढ्दो छ । राष्ट्र बैङ्कको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो कर्जा २ खर्ब २९ करोड ९० लाख ९२ हजार रुपैयाँ प्रवाह भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा उच्च हो। गत वर्षको पुष मसान्तसम्म रियल इस्टेट कर्जाको प्रवाह २ खर्ब १० अर्ब ९८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
व्यावसायिक भवन, मल र औद्योगिक संरचनाको निर्माणमा उत्साह देखिनुले अर्थतन्त्र विस्तारको सङ्केत दिएको छ
रियल इस्टेट कर्जा सर्वाधिक प्रभाव गर्नेमा पनि एनआईसी एशिया बैंक नै अघि रहेको छ । चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा आइपुग्दा एनआईसीले २६ अर्ब १५ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रभाव गरेको छ ।
साथै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २४ अर्ब ८४ करोड, नबिल बैकले २४ अर्ब ८ करोड, प्राइम बैंकले २१ अर्ब २८ करोड, ग्लोबल आइएमई बैंकले १६ अर्ब २४ करोड, प्रभु बैंकले १५ अर्ब ४५ करोड, लक्ष्मी सनराइज बैंकले १५ अर्ब १४ करोड, हिमालयन बैंकले १३ अर्ब २३ करोड र नेपाल बैंकले ११ अर्ब २७ करोड रुपैयाँ रियल इस्टेट कर्जा प्रभाव गरेका छन् ।













