चार कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको शेयर आज माघ २९ गतेदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता र नेपाल इन्फ्रान्सट्रक्चर बैंक (निफ्रा) को १० लाख कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरहरूको न्यूनतम मूल्य क्रमशः ६९० रुपैयाँ, २७३ रुपैयाँ, १६५ रुपैयाँ र १०५ रुपैयाँ तोकेको छ।

सीआईटीको शेयर किन्दा घटीमा १० हजार कित्ता र अन्य सबै कम्पनीको शेयर किन्दा घटीमा ५ हजार कित्ता किन्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ता किन्न सकिने व्यवस्था गरिएको छ। शेयर किन्न आवेदन दिने अन्तिम मिति फागुन ६ गते तोकिएको छ।
शेयर किन्न इच्छुक र योग्य लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड वा एनआईसी एशिया बैंकको कर्पाेरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ।












