भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औं स्थानमा

काठमाडौं। नेपाल भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२४ मा एक स्थान माथि उक्लिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालले यो वर्ष १०० मा ३४ अंक प्राप्त गर्दै १०७औं स्थान हासिल गरेको छ। यो अघिल्लो वर्षको तुलनामा एक स्थानको सुधार भए तापनि भ्रष्टाचारको चुनौती अझै जटिल रहेको देखिएको छ।
गत वर्ष नेपालले ३५ अंकसहित १०८औं स्थानमा रहेको थियो। यो पटक एक अंक घटेर ३४ अंकमा झरे तापनि समग्र सूचीमा एक स्थान उक्लिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ५० भन्दा कम अंक प्राप्त गर्ने मुलुकहरु अझै भ्रष्टाचारले व्याप्त देशका सूचीमा पर्छन्।
डेनमार्कले विगत सात वर्षदेखि भ्रष्टाचार सूचकांकमा पहिलो स्थान कायम राख्दै आएको छ। भने, साउथ सुडान सबैभन्दा भ्रष्ट देशको रूपमा सूचीको अन्तिम स्थानमा रहेको छ। सर्वेक्षण गरिएका १८० देशको औसत अंक यो वर्ष ४३ रहेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले विभिन्न मुलुकमा भ्रष्टाचारको अवस्था बुझ्न विभिन्न संस्थाहरूबाट गरिएका अध्ययन र सर्वेक्षणलाई आधार बनाउने गरेको छ। यी अध्ययनमा सुशासन, घुसखोरी, र सार्वजनिक संस्थाहरूको पारदर्शिताका बारेमा गरिएका मूल्यांकनलाई समेटिन्छ।













