प्रतिनिधि सभामा सांसद भोटेले सरकारसँग गुहार मागेपछि…..

काठमाडौं। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद छिरिङ डम्डुल लामा (भोटे) ले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्। विभिन्न विषयमा सरकारको असक्षमता र जनताप्रतिको उदासीनतामाथि प्रहार गर्दै उनले गुहार गुहार गुहार भन्दै सरकारलाई जिम्मेवारी बोध गराउन आह्वान गरेका हुन् ।
उनले समितिमा विचाराधीन विधेयक लुटिएको, सदनको अधिकार हनन गरिएको र लोडसेडिङ मुक्त गराउने कुलमान घिसिङको अधिकार खोस्न प्रयास भएको आरोप लगाए। साथै, धर्म, संस्कार, र आदिवासी जनजातिको मान्यता विपरीत कार्यहरू भइरहेको भन्दै पाथिभरा संरक्षक र सर्वसाधारणको मर्म लुटिएको उल्लेख गरे।
उनले भने, गुहार गुहार गुहार कहिल्यै समितिमा विचाराधिन विद्येयक लुटेको छ । कहिल्यै सदनको अधिकारी लुटेको छ । कहिल्यै १८ घण्टाको लोडसेटिङ मुक्त गर्ने कुलमान घिसिङको अधिकार खोस्न न्वारङ देखिको बल लगाएको छ । कहिल्यै धर्म मर्म र आदीवासी जनजातिको मान्दै आएका पाथिभरा सरक्षक र आम सर्वसाधारणको मर्म लुटेकोछ । गुहार सरकार ।’
लामाले असोज ११ देखि १३ गतेसम्म नख्खु खोलामा आएको बाढीले स्थानीय नागरिकलाई बगाएको घटनालाई उठाएका छन्। उनका अनुसार २४ घण्टासम्म नदीको बीचमा मतदाताले गुहार माग्दा पनि सरकारले कुनै पहल नगरेको आरोप छ।
बनजंगल, गाउँबस्तीका साथै सिंहदरबारसमेत जलिरहेको चित्रण गर्दै सांसद लामाले सरकारको उदासीनताप्रति कटाक्ष गरे। उनले सरकार हेलिकप्टरमा चढिरहेको र रोम झोलेझैं निउरो बजाइरहेको टिप्पणी गरे।
लामाको आक्रोशपूर्ण सम्बोधनले प्रतिनिधि सभामा तरंग उत्पन्न गरेको हो ।













