५ दिनको ओरालो यात्रामा ब्रेकः ७ अर्ब २४ करोडको कारोबार, कस्तो होला अबको गति ?

काठमाडौँ । पुँजी बजार ओरालो यात्राको ब्रेक लागेको छ । लगातार ५ दिन घटेको शेयर बजार आज भने एकल अकंले बढेको छ । बजार सामान्य सुधार आएसँगै लगानीकर्ता मख्ख बनेका छन् ।
लगानीकर्ताको मनोबल कमजोर हुँदा थोरै नाफा हुने वित्तिकै बुक गर्ने रहेका छन् । यद्यपि, बजारमा क्रेताहरुको उपस्थिति सकारात्मक देखिएको छ । कारोबार रकम औसत स्तरमै कायम रहँदा शेयर एकुमुलेसनको क्रम पनि तीव्र बनेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले लगानीकर्ता उत्साहित बनेका छन्। बैंकहरूले सस्तो ब्याजदरमा शेयर धितो कर्जा दिन थालेपछि ठूला लगानीकर्ताको सक्रियता बढेको छ।
बाह्य अर्थतन्त्र सबल भइरहेकाले आन्तरिक अर्थतन्त्र पनि चलायमान हुने विश्लेषकहरूको भनाइ छ । तर, अल्पकालीन कारोबारीको बिक्री प्रवृत्ति र नेप्सेको २७ सय बिन्दुमा पुग्दा हुने मनोवैज्ञानिक दबाबले बजारमा अझै अस्थिरता कायम रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अकंले बढेर २६८३.८६ बिन्दुमा कायम भएको छ । आज २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर किनेबच हुँदा ७ अर्ब २४ करोडको शेयर कारोबार भएको छ ।
यसदिन पाँच वटा उपसूचकमा हरियाली आएको छ भने ८ उपसूचक राताम्य भएका छन् ।

मंगलबार १३४ कम्पनीको शेयर मूल्य बढ्दा ९८ कम्पनीको घटेको छ ।












