पोर्चुगल र जापान पठाउने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा डोटीको बडीकेदार गाउँपालिका–३ निवासी, हाल काठमाडौं महानगरपालिका–१४ बसोबास गर्ने २९ वर्षीय पूर्णबहादुर जेठारा र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ निवासी, हाल काठमाडौं नागार्जुन नगरपालिका–२ बस्ने ३७ वर्षीय राजकुमार लामा रहेका छन्।
पूर्णबहादुरले पोर्चुगल पठाउने भन्दै तीन जना पीडितबाट ९ लाख रुपैयाँ असुलेका थिए भने राजकुमारले जापान पठाइदिने बहानामा एक जना व्यक्तिबाट ५ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए, जसपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
प्रहरीले अनुसन्धानपछि आइतबार पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–१४ बाट तथा राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका–२ बाट पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













