अझै टेरेनन् उद्योगीहरूले कुलमानलाई, फेरी लाइन काटिने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता तिर्न आनाकानी गर्ने उद्योगीहरूविरुद्ध पुनः लाइन काट्ने तयारी गरेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगीहरूलाई बारम्बार सम्झाउँदा र विभिन्न दबाबमूलक उपायहरू अपनाउँदा समेत बक्यौता नउठेपछि अन्तिम विकल्पको रूपमा लाइन काट्ने प्रक्रिया अघि बढाउन लागेको बताइएको छ ।
प्राधिकरणले विद्युत नियमन आयोगसँग आवश्यक परे लाइन काट्ने सहमति माग्दै पत्र पठाएको छ। बक्यौता उठाउनका लागि विद्युत प्राधिकरणले यसअघि पनि कडा कदमहरू चालेको थियो। उद्योगीहरूको खाता रोक्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्नुका साथै बक्यौता रहेका उद्योगीहरूको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भुक्तानी रोकेर बक्यौता असुल्ने रणनीति अपनाएको थियो।
यसबाहेक, आइपिओ निष्कासन रोक्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै उद्योगीहरूलाई आर्थिक गतिविधिमा समेत रोक लगाउने चेतावनी दिएको थियो। घरमै समेत विद्युत आपूर्ति रोक्ने धम्की दिँदासमेत उद्योगीहरूले बक्यौता नतिरेपछि प्राधिकरण थप कडा कदम चाल्न बाध्य भएको हो।
विद्युत प्राधिकरणले यसअघि पटक–पटक सम्झौता र समझदारीको पहल गरे पनि उद्योगीहरूले ठोस कदम नचालेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।
उद्योगीहरूले अझै पनि कुलमान घिसिङको नेतृत्वमा रहेको प्राधिकरणको कडाइलाई नजरअन्दाज गरेमा निकट भविष्यमा विद्युत आपूर्तिमा समस्या भोग्नुपर्ने देखिन्छ।













