नाडेप लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४८ दशमलव ६७ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले गत आवमा १ करोड १२ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवमा बढेर १ करोड ६६ लाख रुपैयाँ पुगेको छ। चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न मद्दत पुगेको हो।
कम्पनीले गत आवमा १ करोड ४८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा चालू आवमा बढेर २ करोड २८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी गत आवमा १२ करोड ३४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १६ करोड १५ लाख रुपैयाँ पुगेको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत बढेको छ। कम्पनीको प्रतिशेयर आम्दानी गत आवमा ४ रुपैयाँ ६२ पैसा रहेकोमा चालू आवमा बढेर ६ रुपैयाँ ८६ पैसा पुगको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४८ करोड ५७ लाख रुपैयाँ रहेको छ। कम्पनीको सञ्चित मुनाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक छ भने जगेडा कोषमा २४ करोड २८ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ३ अर्ब २४ करोड रुपैयाँ सापटी लिएर २ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
पुस मसान्तसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ २३ पैसा र खराब कर्जा ८ प्रतिशत रहेको छ।












