पशुपति क्षेत्रको जग्गामा बालुवाखानी सञ्चालनमा भ्रष्टाचारः एमाले नेतासहित ९ जना दोषी ठहर

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बालुवाखानी सञ्चालन गर्न दिएको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा एमाले नेता निर्मल कुइँकेलसहित नौ जनालाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतको निर्णय उल्टाउँदै न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले बुधबार दोषी करार गर्दै कैद सजाय सुनाएको हो ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव रहँदा बालुवाखानी सञ्चालनसम्बन्धी ठेक्कामा अनियमितता गरेको भन्दै निर्मल कुइँकेललाई ६ वर्ष कैद सजाय तोकिएको छ । अदालतले उनलाई ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै सोही रकम जरीवानासमेत गर्ने फैसला सुनाएको छ ।
सोही मुद्दामा कोषका अर्का सदस्य सचिव सुशील नाहाटालाई ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरीवानाको फैसला भएको छ । त्यस्तै, स्थानीय विकास अधिकारी प्रेमराज जोशीलाई ६ महिना कैद र २ करोड ३७ लाख रुपैयाँ जरीवाना तोकिएको छ ।
काठमाडौँ जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्ल र राजुकुमार रेग्मीलाई पनि जोशीसरह कैद र जरीवानाको सजाय सुनाइएको छ । बालुवाखानीको ठेक्का पाएका ठेकेदार बच्चराम दाहाललाई १२ करोड ९९ लाख रुपैयाँ असुल्नुपर्ने आदेश भएको छ भने अर्का ठेकेदार मिठाराम दाहालबाट २ लाख ३७ हजार रुपैयाँ असुल्नुपर्ने फैसला गरिएको छ ।













