देशभर घरजग्गा कारोबारमा सुधार, माघमा ३ अर्ब ८७ करोड राजस्व सङ्कलन

४ फाल्गुन २०८१, आईतवार १०:३६

काठमाडौं । देशभर घरजग्गाको कारोबारमा सुधारको संकेत देखिए पनि माघ महिनामा राजस्व सङ्कलनमा गिरावट आएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ, जुन पुस महिनाको ४ अर्ब २५ करोड रुपैयाँभन्दा कम हो ।

गत मङ्सिरमा ३ अर्ब ८७ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएकोमा पुसमा भने उल्लेख्य वृद्धि भएको थियो । तर, माघमा पुनः गिरावट देखिएको हो । यसले घरजग्गा कारोबारमा क्रमिक सुधार भइरहे पनि मासिक उतार-चढाव कायम रहेको देखाउँछ ।

चालु आर्थिक वर्षको सात महिनामा भने राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २१ अर्ब ६५ करोड रुपैयाँभन्दा लगभग १४ प्रतिशतले बढी हो ।

माघमा ४६ हजार ५० लिखत पारित भएको थियो भने पुसमा ४८ हजार १ सय ५६ लिखत पारित भएको थियो । काठमाडौं उपत्यकाका नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी राजस्व लगनखेल मालपोत कार्यालयले सङ्कलन गरेको छ । उक्त कार्यालयले माघमा ३३ करोड ७४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख रुपैयाँ, कलङ्की मालपोत कार्यालयले २६ करोड १ लाख रुपैयाँ, चाबहिल मालपोत कार्यालयले २० करोड ८० लाख रुपैयाँ र भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*