हलेसीमा आगलागीले निर्धन उत्थान लघुवित्तसहित तीन घर जल्यो, १ करोडभन्दा बढीको क्षति

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारमा आइतबार साँझ भएको भीषण आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा आएको छ। स्थानीय पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डर लिक भएर साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा राति करिब ११ः०० बजे निभाइएको हो। आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको छ।
आगलागीबाट पदम राईको घरसहित घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ। इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार दुई घर पूर्णरूपमा जलेका छन् भने एक घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर पसल र ग्यास पसलमा भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार करिब १ करोड रुपैयाँभन्दा बढीको धनमाल जलेको छ।
सुक्खाग्रस्त क्षेत्र हलेसीमा पानीको अभाव भएकाले आगो निभाउन कठिनाइ भएको प्रहरी निरीक्षक राईले बताए। आगलागी नियन्त्रणका लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली खटिएका थिए। तर, दमकलको अभावमा आगो तत्कालै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिए। पदम राईको घरमा बेलुकी खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई सुरु भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको हो।













