पाथीभरा केवलकारको विरोधमा प्रदर्शनकारी र प्रहरीबीच झडप

काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोध गर्दै आएका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पुनः झडप भएको छ। पाथीभरा मन्दिर क्षेत्रलाई व्यावसायिकरण गर्ने उद्देश्यसहित निर्माणाधीन केवलकारको विरोधमा हजारौं प्रदर्शनकारीले मार्चपास गर्ने क्रममा प्रहरी रोक्न आएपछि तनाव सिर्जना भएको हो।

देशभरिबाट आएका आन्दोलनकारी आज ताप्लेजुङको काफ्लेपाटीमा भेला भई कोणसभा गरेपछि पाथीभरा मन्दिरसम्म मार्चपास गर्ने योजनामा थिए। विरोध कार्यक्रमलाई राष्ट्रिय मूक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र मुक्कुम्लुङ बचाउन अभियानका अभियन्ताहरूले समर्थन जनाएका थिए। सभ्यता, संस्कृति र धार्मिकस्थलको मौलिकता जोगाउनुपर्ने माग गर्दै उनीहरूले केवलकारको काम अविलम्ब रोक्न सरकारसँग माग गरेका छन्।

प्रदर्शनकारीहरूलाई रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएपछि स्थिति तनावग्रस्त बनेको थियो। उनीहरूले प्रहरी दमनको विरोध गर्दै केवलकार निर्माण कुनै पनि हालतमा अघि बढ्न नदिने चेतावनी दिएका छन्।

गत माघ १२ देखि निरन्तर रूपमा स्थानीय तथा विभिन्न समूहहरूले केवलकारको विरोधमा आन्दोलन गर्दै आएका छन्। उनीहरूले पाथीभरा क्षेत्रको धार्मिक, सांस्कृतिक महत्व कायम राख्नुपर्ने भन्दै केवलकार निर्माण बन्द गर्नुपर्ने अडान लिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको समूहले उक्त केवलकार निर्माण गर्दै आएको छ।
















