पियोर इनर्जीको पहिलो चरणको आईपीओ फागुन २० गतेदेखि

९ फाल्गुन २०८१, शुक्रबार ०७:४२

काठमाडौं । पियोर इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यही फागुन २० गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित अर्थात् बाँके जिल्लाबासीका लागि र १ लाख ४४ हजार कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितले न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्ताका लागि र वैदेशिक रोजगारीमा रहेकाले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार २०० कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाले आवेदन यही फागुन २० गतेदेखि चैत ५ गतेसम्म दिन सकिनेछ। आयोजना प्रभावितका लागि निष्कासन गरिएको सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन अवधि लम्ब्याइनेछ भने वैदेशिक रोजगारीमा रहेकाका लागि आवेदन लम्बिने छैन।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ। पियोर इनर्जी आईपीओ जारी गर्ने पहिलो सौर्य ऊर्जा कम्पनी बनेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*