सार्वजनिक ऋणको दायित्व जीडीपीको ४५ प्रतिशत नाघ्यो

९ फाल्गुन २०८१, शुक्रबार १२:०५

काठमाडौं । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको भार ४५ प्रतिशतभन्दा बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारी ऋण २६ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ।

आर्थिक वर्षको सुरुवातमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्ममा थप १ खर्ब ७६ अर्ब ९६ करोड रुपैयाँ ऋण लिइएको छ। यससँगै कुल सार्वजनिक ऋणको जीडीपी अनुपात ४५.७७ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।

हालको कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत रहेको छ। माघ मसान्तसम्ममा आन्तरिक ऋण १२ खर्ब ८२ अर्ब ८१ करोड रुपैयाँ र वैदेशिक ऋण १३ खर्ब २८ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। विनिमय दरमा आएको परिवर्तनकै कारण मात्रै यो अवधिमा ३६ अर्ब ५९ करोड रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल पाँच खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। हालसम्म दुई खर्ब ९० अर्ब ५७ करोड रुपैयाँ ऋण संकलन भइसकेको छ, जुन वार्षिक लक्ष्यको ५३.१२ प्रतिशत हो। चालु आवमा तीन खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक र दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य थियो। माघ मसान्तसम्म आन्तरिकतर्फ दुई खर्ब २९ अर्ब १५ करोड रुपैयाँ र बाह्यतर्फ ६१ अर्ब ४२ करोड रुपैयाँ संकलन भइसकेको छ।

सरकारले ऋणको साँवा र ब्याज भुक्तानीका लागि चालु आर्थिक वर्षमा चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ। पछिल्लो सात महिनामा मात्रै एक खर्ब ७८ अर्ब ७५ करोड रुपैयाँ ऋण भुक्तानी भइसकेको छ। जीडीपी अनुपातमा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.३१ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*