सरकारले पाथिभरामा भाई-भाई लडाएर ब्यवसायी पोस्न खोज्यो: लिङ्देन

११ फाल्गुन २०८१, आईतवार १३:२७

काठमाडौँ । राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारलाई व्यवसायीको पक्षपाती भएको आरोप लगाउँदै पूर्वी नेपालको पाथिभरा क्षेत्रमा जारी विवादप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सोमबार प्रतिनिधिसभामा बोल्दै सरकारले जनताको आवाजलाई उपेक्षा गर्दै जबरजस्ती व्यवसायीलाई फाइदा पुग्ने निर्णयहरू गरिरहेको बताए।

लिङ्देनका अनुसार पाथिभरा क्षेत्र हाल अशान्त छ र झगडाको मैदान बन्दै गएको छ। ‘सरकारले किन यो विषयलाई अन्देखा गरिरहेको छ? किन जनता आपसमा लड्न बाध्य छन्?’ उनले प्रश्न गरे। साथै, उनले सरकार किन मन्त्रीस्तरीय वार्ता गर्नबाट पछि हटिरहेको छ भन्नेबारे पनि आशंका व्यक्त गरे।

उनले पाथिभरा केवलकार परियोजना व्यवसायीलाई सुम्पन सरकार लागिपरेको आरोप लगाए। ‘जनताले चाहेको छैन भने किन यो परियोजना अघि बढाउने प्रयास भइरहेको छ?’ उनले प्रश्न गरे। पाथिभराको विकास भन्दै गरिएको केवलकार निर्माणको विरोधमा स्थानीय जनता उत्रिएको र राज्यशक्ति प्रयोग गरी उनीहरूलाई दबाउने प्रयास भइरहेको उनले बताए।

लिङ्देनले सत्ता पक्षका नेताहरूसँग अपिल गर्दै पाथिभरामा भइरहेको केवलकार निर्माण स्थगित गर्न आग्रह गरे। ‘जनताको चाहना विपरीत कुनै पनि विकासको नाममा बलजफ्ती गरिनु हुँदैन’उनले भने। सरकारको प्राथमिकता व्यवसायीको स्वार्थ पूर्ति गर्नु नभई जनताको भावना बुझ्नु हुनुपर्ने उनको धारणा थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*