पाथिभरा विवादले संसदमा हंगामा, ‘राज्य जनताको आवाज दबाउन लाग्यो’

११ फाल्गुन २०८१, आईतवार १४:०६

काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङमा निर्माणाधीन पाथिभरा केवलकारको विषयले संसदमा हंगामा सिर्जना गरेको छ। पछिल्लो केही महिनादेखि ‘नो केवलकार’ समूह र सुरक्षाकर्मीबीच भइरहेको विवादलाई लिएर सांसदहरूले प्रतिनिधि सभाको आकस्मिक समयमा सरकारको कडा आलोचना गरेका छन्। सांसदहरूले सरकारले दमनको नीति अपनाएको भन्दै केवलकार निर्माण रोक्न माग गरेका छन्।

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकार व्यवसायीलाई पोस्नका लागि जनतालाई आपसमा लडाइरहेको आरोप लगाए। उनले संसदमा बोलेका क्रममा भने, ‘पूर्वको पाथिभरा क्षेत्र अशान्त भइरहेको छ। एक प्रकारले रणभूमि बनेको छ। सरकार किन मन्त्रीस्तरीय वार्ता गर्न तयार छैन? के अब त्यहाँ मान्छे मरेपछि मात्र वार्ता गर्ने हो? सरकारले योजनाबद्ध रूपमा व्यवसायीको हातमा पाथिभरा दिन खोजिरहेको छ। जनताले नचाहेको विकास किन जबरजस्ती गर्न खोजिएको छ? राज्यशक्ति लगाएर जनता माथि दमन भइरहेको छ। केवलकार निर्माण स्थगित गर्नुपर्छ।’

रास्वपाकी सांसद तोसिमा कार्कीले व्यवसायीलाई फाइदा पुग्ने गरी सर्वसाधारणमाथि दमन भइरहेको आरोप लगाइन्। उनले भनिन्, ‘जनतालाई विकासले लाभ दिनुपर्छ, तर यहाँ त सरकारले विकासको नाममा धार्मिक र सांस्कृतिक सम्पदामाथि नै आँच पु-याइरहेको छ। पाथिभरा केवलकार विवादले नेपालीहरू दुई भागमा विभाजित भएका छन्। सरकार बल प्रयोग गरेर होइन, वार्ताद्वारा समस्या समाधान गर्नुपर्छ।’

सांसद राम कुमार राईले सरकार पर्यटन, धर्म, र संस्कृतिमा राजनीति गरिरहेको आरोप लगाए। उनले भने, ‘पाथिभरा केवलकारलाई लिएर अहिले निषेधाज्ञा जारी भएको छ। हिजो मात्रै ठूलो झडप भयो, जसमा प्रहरी र आन्दोलनकारी दुवै घाइते भएका छन्। पाथिभरा संरक्षण क्षेत्रमा पर्ने जग्गा कसरी निजी कम्पनीलाई दिइयो? सरकारले यो प्रश्नको जवाफ दिनुपर्छ। जनताको दमन गरेर सरकार कहिल्यै टिक्न सक्दैन। अहिलेको आन्दोलन अझै बढ्दै जानेछ, त्यसैले केवलकार परियोजना तत्काल रोक्नुपर्छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*