ईभी बीमा बजारमा चीन विश्वकै पहिलो स्थानमा, सनकार टेक्नोलोजीको ई–बीमा सर्वाधिक लोकप्रिय

काठमाडौं । ग्लोबलडाटाको २०२४ इमर्जीङ ट्रेन्डस इन्स्योरेन्स कन्सुमर सर्वेक्षणका अनुसार चीन विश्वमा विद्युतिय सवारी (ईभी) बीमा अपनाउने दरमा अग्रस्थानमा रहेको छ।
सर्वेक्षणले विभिन्न देशहरूबाट संकलित तथ्याङ्कका आधारमा चीनमा बीमित सवारी साधनमध्ये २७.२ प्रतिशत ईभी भएको देखाएको छ, जुन विश्व औसत ६.२ प्रतिशतभन्दा निकै उच्च हो। तुलनात्मक रूपमा संयुक्त राज्य अमेरिका ७.५ प्रतिशत, जर्मनी ६.४ प्रतिशत, र बेलायत ६ प्रतिशतमा रहेका छन्। उदीयमान बजारहरू जस्तै दक्षिण अफ्रिका (०.५ प्रतिशत) र मेक्सिको (१.४ प्रतिशत) मा भने ईभी बीमाको प्रवेश निकै न्यून छ।
चीनको ईभी बीमा बजारको तीव्र वृद्धिको प्रमुख कारण सनकार टेक्नोलोजी ग्रुपको उल्लेखनीय विस्तार हो। कम्पनीले एक प्रमुख विश्वव्यापी ईभी निर्माता कम्पनीसँग साझेदारी गर्दै आफ्नो सेवा दायरा बढाएको छ।
२०२४ को प्रारम्भमा ल्याइएको ई–बीमा प्रणालीले नीति नवीकरणलाई सहज बनाउँदै दुई मिलियन भन्दा बढी ईभी मालिकहरूलाई प्रत्यक्ष लाभ पुर्याएको छ। यसकै कारण सनकारको बीमा प्रिमियम कारोबार जनवरी २०२४ मा मात्र ४ लाख अमेरिकी डलरबाट वर्षको अन्त्यसम्म लगभग ४० मिलियन अमेरिकी डलरसम्म पुगेको छ। हाल कम्पनीको सेवा चीनभर ४८ शहरसम्म विस्तार भइसकेको छ।
आगामी दिनमा सनकारले आफ्ना बीमा सेवाहरूलाई साझेदार ईभी निर्माता कम्पनीको प्लेटफर्ममा समावेश गर्ने योजना बनाएको छ। यसले ग्राहकहरूलाई आफ्नो सवारी स्वामित्व व्यवस्थापनसँगै बीमा योजनाहरू सहज रूपमा नियन्त्रित गर्न सहयोग पुर्याउनेछ।
चीनको ईभी बजार निरन्तर विस्तार भएसँगै ईभीहरूका लागि अनुकूलित बीमा समाधानहरूको माग समेत तीव्र रूपमा बढिरहेको छ। बीमा प्रदायकहरू यस अवसरलाई उपयोग गर्दै बीमा क्षेत्रको दायरा बढाउन अग्रसर छन्। यद्यपि मूल्य निर्धारण, जोखिम मुल्यांकन तथा डिजिटल एकीकरण जस्ता चुनौतीहरू समाधान गर्न नसके यो प्रतिस्पर्धात्मक बजारमा लामो समय टिक्न कठिन हुन सक्छ।













