बुलको यात्रामा शेयर बजारः कारोबारले थप्दै रौनक, के राष्ट्र बैंक बाधक बन्दै हो ?

१२ फाल्गुन २०८१, सोमबार १६:१०

काठमाडौँ । नेपाल सम्पत्ति शुद्धीकरण निवारणको विषयमा कमजोर रहेको भन्दै ग्रे लिस्टमा परेपछि शेयर बजारमा कस्तो असर पर्ने भन्ने चासो व्यापक थियो । तर, आइतबारको बजार गतिविधिले यस आशंकालाई निरुत्साहित गरेको छ । बजारले आइतबार ग्रे लिस्टलाई हरियो कार्पेटले स्वागत गरेको हो । आज अर्थात सोमबार पनि बजारमा हरियो यात्राले नै निरन्तरता पाएको छ ।

बजारमा लगानीकर्ताको मनोबल बलियो बन्दै गएको छ । आम लगानीकर्ताले बजारको वृद्धि बारेमा विश्वास राखेका छन् । बजारलाई क्रमशः बढ्ने अनुमान गरेका छन् । ग्रे लिस्टको असर विशेषगरी अन्तर्राष्ट्रिय व्यापारमा देखिन सक्ने सम्भावना रहेको भए पनि शेयर बजारमा भने यसले कुनै खास नकारात्मक प्रभाव नपार्ने जनाइएको छ।

आयात–निर्यात व्यापार प्रभावित भए पनि त्यस्ता प्रभावित क्षेत्रका लगानीकर्ताहरुको शेयर बजारमा आउने सम्भावना छ । यसको कारण, नकारात्मक समाचारलाई शेयर बजारले बेवास्ता गर्न थालिसकेको देखिन्छ । बजार बुल रनमा प्रवेश गर्न लागेको संकेत गरिएको छ र बैंकिङ प्रणालीमा रहेको अधिक तरलता सेयर बजारतिर प्रवाह हुने सम्भावना पनि बलियो छ । यसले बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षाका साथ कारोबार रकम र सूचक बढेको छ ।

केन्द्रीय बैंकले आगामी हप्ता मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको छ । यस समीक्षामा कुनै ठूलो नीतिगत परिवर्तन नहुने अनुमान गरिएको छ, जसले बजारमा स्थिरता ल्याउन सक्छ । साथै, शेयर बजारमा ट्रेन्ड परिवर्तनको संकेत पनि देखिएको छ । लगानीकर्ताहरु अहिले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा ध्यान केन्द्रित गर्दैछन्, जसले बजारको दिगो सुधारमा महत्वपूर्ण भूमिका निभाउन सक्छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३५ अकंले बढेर २७५८.७५ बिन्दुमा बन्द भएको छ । आज ३१० कम्पनीको २ करोड ११ लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भइरहेको छ ।

कारोबार रकम निकै उच्च बन्दै गएको छ । जसले बजार माथि नै जाने अपेक्षा लगानीकर्ताहरुमा रहेको छ । यसदिन बैंकिङ समूहको ०.०८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.९८ प्रतिशत र अन्य समूहको २.५० ,प्रतिशतले बढेको छ । आज ९२ कम्पनीको मूल्य बढेको छ भने १४३ कम्पनीको घटेको छ । आज ९ कम्पनीको शेयर स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*