मोबाइल नम्बर परिवर्तन हुँदा बैंकलाई तुरुन्तै जानकारी गराउनुहोस्ः राष्ट्र बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी सेवा प्रदायकहरूको मोबाइल वालेटजस्ता सेवाहरू प्रयोगकर्ताको दर्ता गरिएका मोबाइल नम्बर वा इमेल ठेगानासँग जोडिएका हुन्छन्। यी सेवासँग ग्राहकको बैंक खाता तथा अन्य वित्तीय विवरणहरू प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छन्।
नेपाल राष्ट्र बैंकले कुनै पनि कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएमा सम्बन्धित बैंक वा वित्तीय संस्थालाई तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ। यदि मोबाइल फोन हरायो, चोरी भयो वा नम्बर परिवर्तन भयो भने बैंकलाई जानकारी नगराएमा अनधिकृत व्यक्तिले खातासम्बन्धी गोप्य विवरणहरू पहुँच गर्न सक्ने जोखिम रहन्छ।
राष्ट्र बैंकले ग्राहकहरूलाई आफ्नै नाममा दर्ता भएको सिमकार्ड मात्र प्रयोग गर्न र मोबाइल बैंकिङ सेवाका लागि आधिकारिक एप्लिकेसन मात्र डाउनलोड गर्न आग्रह गरेको छ। साथै, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुनै पनि समस्या वा गुनासो भएमा नेपाल राष्ट्र बैंकको गुनासो दर्ता पोर्टल www.gunaso.nrb.org.np मार्फत उजुरी गर्न सकिने जानकारी दिएको छ।
यसैगरी, वित्तीय ग्राहक संरक्षण इकाइसँग कुनै समस्या परेमा ०१-५७१९६०५ नम्बरमा सम्पर्क गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।













