भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौँ । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री तथा ढुवानीमा मध्यस्थता गरेको आरोपमा भारतस्थित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ। अमेरिकी वित्त विभागले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत भइरहेको भन्दै कडा कारबाहीस्वरूप प्रतिबन्ध लगाइएको उल्लेख छ।
अमेरिकी सरकारले डोनाल्ड ट्रम्पको ‘अधिकतम दबाब नीति’ अन्तर्गत इरानको आर्थिक स्रोतलाई रोक्ने रणनीति अपनाउँदै आएको छ। सोही नीति अनुरूप इरानको तेल ढुवानीमा संलग्न रहेका भारतका चार कम्पनीलाई प्रतिबन्ध लगाइएको हो। अमेरिकी वित्त विभागका अनुसार इरानी तेलको कारोबारमा संलग्न युएई र हङकङका तेल दलाल, भारत र चीनका ट्याङ्कर सञ्चालक तथा व्यवस्थापक, साथै इरानको नेसनल इरानी आयल कम्पनी ९ल्क्ष्इऋ० र इरानी आयल टर्मिनल कम्पनीका प्रमुखहरूमाथि कारबाही गरिएको छ।
अमेरिकी सरकारका अनुसार प्रतिबन्धित भारतीय कम्पनीहरू निम्न छन्
-फ्लक्स मेरिटाइम एलएलपी (नवी मुम्बई)
-बीएसएम मरीन एलएलपी (दिल्ली–एनसीआर)
-अस्टिनशिप म्यानेजमेन्ट प्रालि (दिल्ली–एनसीआर)
-कोसमोस लाइन्स इंक (तंजावुर)
यी कम्पनीहरूमध्ये तीन कम्पनीलाई इरानी तेल ढुवानीमा संलग्न जहाजहरूको व्यावसायिक तथा प्राविधिक व्यवस्थापन गरेको आरोपमा प्रतिबन्ध लगाइएको छ। त्यस्तै, कोसमोस लाइन्स इंकलाई इरानी पेट्रोलियम ढुवानीमा प्रत्यक्ष संलग्न रहेको भन्दै प्रतिबन्ध लगाइएको हो।
अमेरिकी प्रतिबन्ध लागू भएसँगै यी कम्पनीहरूको अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्नेछ। प्रतिबन्धित कम्पनीहरूले अमेरिकी डलरमा कारोबार गर्न पाउने छैनन् भने तिनीहरूका अमेरिकी बैंक खाता तथा सम्पत्ति समेत फ्रिज हुन सक्नेछ। साथै, अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई समेत यी कम्पनीहरूसँग व्यापार नगर्न चेतावनी दिइएको छ।












