५ करोड २१ लाख बिगो र जरिवानासहित दुई जनाविरुद्ध राजस्व अनुसन्धान विभागको मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले स्वदेशमा उत्पादन नहुने विदेशी मदिराको ‘प्याकेजिङ’ सामग्री भन्सार छली नेपाल भित्र्याउने दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। बुटवलस्थित राजस्व अनुसन्धान कार्यालयले भारतबाट मदिराका ढक्कन र सिसीमा प्रयोग हुने सामग्रीहरू भन्सार छली नेपाल भित्र्याउने समूहसँग संलग्न दुई जनाविरुद्ध ५ करोड २१ लाख बिगो र जरिवानासहित मङ्गलबार मुद्दा दायर गरेको हो।
राजस्व अनुसन्धान कार्यालयका प्रमुख विवेक घिमिरेका अनुसार, शशाङ्क खनाल र रमेश गौतम नामका दुई व्यक्तिले मदिराका ढक्कन र अन्य सामग्री चोरीपैठारी गरी नेपाल भित्र्याएका थिए। खनाल र गौतमका विरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरिएको छ।
उक्त मुद्दामा खनालले चोरीपैठारी गरेर भन्सार महसुल, मूल्य अभिवृद्धि कर, र अन्तःशुल्कमा राजस्व चुहावट गरेको पुष्टि भएको छ। त्यसैले, उनीहरूसँग रु १ करोड ३० लाख २७ हजार २९० बिगो र बिगोको शतप्रतिशत रकम जरिवानासहित रु ५ करोड २१ लाख ९ हजार १६० तोकिएको छ। साथै, राजस्व चुहावटको सम्बन्धमा सोही ऐन अनुसार हदैसम्म कैद सजायको माग गरिएको छ।













