मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति नाडाको असन्तुष्टि, ‘ब्यवसायीलाई ठुलो मर्का पर्ने भयो’

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाप्रति असन्तुष्टि जनाएको छ । समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण–मूल्य अनुपात अधिकतम ६० प्रतिशत कायम गर्ने निर्णयलाई नाडाले अपर्याप्त भनेको छ ।
नाडाका अनुसार पेट्रोल तथा डिजेल सवारी साधनका लागि ऋण–मूल्य अनुपात ५० प्रतिशतबाट ७५ प्रतिशत पु¥याउने आफूहरूले माग गरे पनि राष्ट्र बैंकले त्यसलाई ६० प्रतिशतमा सीमित राखेको छ। यस्तै, विद्युतीय सवारी साधनका लागि समेत सोही सीमा तोकिनु व्यवसायीका लागि ठूलो चुनौती भएको नाडाको भनाइ छ।
सरकारले नीतिगत रूपमा हरित ऊर्जा (ग्रीन इनर्जी) प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको भए पनि मौद्रिक नीतिको यो संशोधनले विद्युतीय सवारीको प्रयोग घट्न सक्ने नाडाको ठहर छ। सरकारले अघिल्लो नीतिअनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत ऋण–मूल्य अनुपात कायम राख्नुपर्ने नाडाले माग गरेको छ। यसले व्यवसायीको लगानीलाई सुरक्षित राख्नुका साथै विद्युतीय सवारीको विस्तारलाई पनि सहज बनाउने नाडाको दाबी छ













