मौद्रिक नीतिले चम्कियो वाणिज्य बैंक समूह, १९ वटै बैंकको शेयर मूल्यमा हरियाली

काठमाडौँ । केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षापछि नेपाली शेयर बजारमा उत्साहको लहर देखिएको छ । बैंक–वित्तीय संस्थाका मुनाफा वृद्धि गर्न सहयोग पुग्ने नयाँ प्रावधान लागू भएपछि विशेषगरी वाणिज्य बैंक समूहमा वृद्धि देखिएको हो ।
यसले समग्र नेप्से सूचकमा आकर्षक बढोत्तरी ल्याएको छ । विश्लेषकका अनुसार नयाँ नीति अनुसार बजार अझ उचाईमा पुग्न सक्ने संभावना छ, यद्यपि बजारको गति र प्रवृत्तिमा करेक्सनको जोखिम भने अवश्यम्भावी रहने छ । केन्द्रीय बैंकले असल कर्जाबापत प्रोभिजन दर घटाएको छ, जसले बैंक तथा वित्तीय संस्थाको नाफा बढाउन सहयोग पुर्याउनेछ। नयाँ व्यवस्थामा असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा घटाइएको हो, जुन यसअघि १.१० प्रतिशत थियो । यसले बैंकलाई झन्डै ५ अर्ब रुपैयाँको अतिरिक्त मुनाफा दिने संभावना प्रकट गरेको छ, जसले ग्राहकको लाभांश र लगानीकर्ताको फाइदामा पनि वृद्धि ल्याउनेछ ।
स्मरणीय कुरा बैंक–वित्तीय संस्थाका पदाधिकारी र शेयर लगानीकर्ताहरुले यस प्रकारको प्रावधानको माग गरेका थिए । अर्थतन्त्रको सुधार र बैंकहरुको अवस्था सुधार हुँदै गएको अवस्थामा यो परिवर्तनले शेयर बजारमा पनि सकारात्मक असर पुर्याउने अपेक्षाका साथ बजारले बिहीबारको बढोत्तरीसँगै सकारात्मक प्रतिक्रिया देखाएको छ ।
बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ वटै वाणिज्य बैंकको शेयर मूल्य बढेको छ । आज बैंकिङ समूह ४६ अकंले बढेर १४३१ बिन्दुमा पुगेको हो ।
यसदिन एनआईसी एशिया बैंकको शेयर मूल्य सर्वाधिक बढेको छ । बैंकको शेयर ६.५४ प्रतिशतले बढेर ३९९ रुपैयाँ पुगेको हो ।

त्यस्तै, हिमालयन बैंकको ५.९३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.०७ प्रतिशत, कुमारी बैंकको ४.५८ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.४७ प्रतिशत र प्रभु बैंकको ४.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।












